पर्वत।
पर्वतको मोदी गाउँपालिकाको देउपुरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी संयुक्त नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको आयोजनामा मनसुनजन्य बाढी, पहिरो तथा भिर पहरामा अड्किएका घाइते तथा मृतकहरूलाई उद्धार गर्ने अभ्यास प्रदर्शन (डेमोन्स्ट्रेसन) गरिएको हो।
जिल्लास्थित नेपाली सेनाको नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरी बल २५ नम्बर गण हेक्वा चण्डिका पर्वत, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाईटी लगायतको संयुक्त सहभागितामा उक्त कार्यक्रम गरिएको हो।
जोखिम न्यूनीकरण र व्यवस्थापन अन्तर्गत पहिरोमा अड्किएका व्यक्तिलाई डोरीद्वारा उद्धार, अड्किएका र फसेका व्यक्तिहरूलाई डोरीका सहायताबाट तलमाथि लाने प्रक्रिया अन्तर्गत उद्धार, हाइलाइन रेस्क्यु, तथा पहिरोबाट उद्धार गरिएका व्यक्तिलाई दिइने प्राथमिक उपचार सम्बन्धी अभ्यास गरिएको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले जानकारी दिनुभयो।
यसैगरी स्ट्रेचरको प्रयोगमार्फत प्राथमिक उपचार कक्षबाट सडकको पहुँच भएको स्थलसम्म लैजाने बारेमा पनि सुरक्षाकर्मीहरूले अभ्यास गरेका थिए।
कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बाढीपहिरोको हिसाबले मोदी गाउँपालिका अत्यन्तै जोखिमयुक्त क्षेत्र रहेको बताउँदै सुरक्षाकर्मीले गरेको अभ्यास नागरिकहरूले पनि सिक्न जरुरी रहेको बताउनुभयो। स्थानीय नागरिकहरूले पनि यस्ता सिप सिक्न सकेमा उद्धार तथा व्यवस्थापनमा सघाउ पुग्ने उहाँको भनाइ छ। वर्षेनी विपदजन्य जोखिमबाट पालिकामा धनजनको क्षति हुँदै आएको बताउँदै अध्यक्ष शर्माले अब बर्खायाम लाग्न थालेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले “विपद बाजा बजाएर आउँदैन” भन्दै नागरिकले नै आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो। आफु बसेको घर, जग्गा जमिनको भौगोलिक अवस्था, पहिरोको जोखिम, र पूर्वाधार निर्माणका क्रममा अपनाउनुपर्ने आवश्यक सावधानीहरू पालना गर्नुपर्ने उहाँको भनाइ छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल २५ नं. गण हेक्वा चण्डिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले विपद् पूर्वका सावधानीहरू नागरिक आफैंले अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षा निकाय २४ सै घण्टा तैनाथी अवस्थामा रहेको बताउँदै आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गर्नुभएको छ। उहाँले सशस्त्र प्रहरीले पनि विपद् सम्बन्धि बाढी पहिरोबाट बच्नका लागि अपनाउनुपर्ने आवश्यक सावधानीहरू समेटिएको सामग्री प्रकाशन गरी विद्यालय तथा जोखिमयुक्त क्षेत्रमा वितरण गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय जननेत्र माविका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षाकर्मी, र बुद्धिजिवि लगायतको बाक्लो सहभागिता रहेको थियो।
