कुश्मा–बुटवल २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन सञ्चालनमा

पर्वत ।

कालीगण्डकी र सहायक नदीहरुमा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर अन्तर्गत कुश्मा नयाँ बुटबल खण्ड सञ्चालनमा आएको छ । जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हो ।

कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूणर् गाउँपालिका-३, दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब १ हजार २ सय मेगावाट विद्युत् भार बोक्न सक्ने क्षमता रहेको छ ।

प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । पहिलो खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेका छन् । दुवै सबस्टेसनमा १००/१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।

कुश्मा नयाँ बुटवल खण्डमा २३६ वटा टावरहरु निर्माण गरिएको छ । सुनवल नगरपालिका १३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण गरिएको छ ।

कुश्मा नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब  ११ अर्ब रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *