मोदीमा एसइइ परीक्षा २०८१ को नतिजा समिक्षा ; सरोकारवालाहरूको बैठक सम्पन्न

पर्वत।

मोदी गाउँपालिकाको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा समिक्षा सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त बैठकमा वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, कार्यपालिका सदस्य,शिक्षा शाखाका कर्मचारी तथा अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।बैठकमा SEE २०८१ को नतिजालाई समिक्षा गर्दै विद्यार्थीहरूको शैक्षिक उपलब्धि, विद्यालयको शैक्षिक अवस्था, शिक्षण पद्धति तथा परीक्षा तयारी प्रक्रियामा देखिएका सफलता र कमजोरीहरूमाथि विस्तृत छलफल गरिएको थियो।

मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले शिक्षा क्षेत्र सुधारका लागि पालिकाले विभिन्न कार्यक्रम अघि सारेको जानकारी गराउनुभयो।उहाँले परीक्षा नतिजाबाट सिकेर आगामी वर्षका लागि रणनीति बनाउनुपर्ने बताउनुभयो।सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले माध्यमिक शिक्षा परिक्षा (SEE) २०८१ को नतिजा तथ्यांक प्रस्तुत गर्दै अघिल्लो वर्षको तुलनामा नतिजा के कस्तो रह्यो भन्नेबारे विश्लेषण प्रस्तुत गर्नुभयो।

बैठकले केही विद्यालयहरूमा शिक्षण गुणस्तर सुधार गर्न आवश्यक रहेको, अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने, र विद्यार्थीको मनोबल उच्च बनाउन विद्यालयस्तरमै काउन्सेलिङ कार्यक्रमहरू अघि बढाउनुपर्ने सिफारिस गरेको छ।

बैठकको समापनमा पालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र सम्पूर्ण सरोकारवालाहरूको सहकार्य अनिवार्य रहेको निष्कर्ष निकालेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *