मोदी गाँउपालिकामा दुई दिने मुटु परीक्षण शिविर सम्पन्न, झण्डै बाह्र सय विरामी लाभान्वित

पर्वत ।

जिल्लाको मोदी गाँउपालिकामा दुई दिने नि:शुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ। मोदी गाँउपालिका र सेभ द हार्टको आयोजनामा पौष १२ र १३ गते सम्पन्न भएको शिविरमा बाह्र सय जनाको मुटु परीक्षण भएको जनाइएको छ। सेवा लिने मध्ये ५९५ जनाको मुटुको इसिजी र ३४७ जनाको ईको गरिएको थियो ।

शिविरमा ७ लाख बराबरको औषधि वितरण सहित सेभ द हर्टको तर्फबाट कुल २९ लाख ८३ हजार ४ सय ५० रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो । शिविरको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ एवम् त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहित २३ जना सहभागी थिए।

स्वास्थ्य परीक्षण गरिएकामध्ये ५ जनाको विभिन्न खालको अपरेसन गर्नुपर्ने र त्यसको जिम्मेवारी आफूहरूले लिएको डा.अनिल भट्टराईले बताउनुभयो। शिविरमा इसिजि, इको सहितका सेवा उपलब्ध गराइएको सेभ द हार्टका महासचिव शेरबहादुर रानाले जानकारी दिनुभयो। रानाका अनुसार सेभ द  हर्ट द्वारा संचालित  गरिएको यो शिविर  १ सय ३१ औं शिविर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *