पर्वत ।
मोदी गाउँपालिकाले अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर दर्शन गरी फर्किने क्रममा २०८३ वैशाख २९ गते भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
गाउँपालिकाको वैशाख ३१ गते बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले दुर्घटनामा परी मृत्यु भएका मोदी गाउँपालिका स्थायी बासिन्दाका परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । साथै दुर्घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरूलाई प्रतिव्यक्ति रु ३० हजारका दरले राहत प्रदान गरिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो। त्यसैगरी दुर्घटनामा घाइते भई उपचाररत गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई थप उपचार सहयोगस्वरूप कर्मचारी कल्याण कोषबाट जनही रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराइने निर्णयसमेत गरेको पुरीले जानकारी दिनुभयो।
दुर्घटनामा ज्यान गुमाएका देव बहादुर अखेली, कौसिला रेग्मी तथा बिन्दु कुमारी कुँवरका परिवारलाई राहतस्वरूप नगद रकम हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो। शर्माका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्थाबारे सम्बन्धित अस्पतालहरूसँग निरन्तर समन्वय र परामर्श भइरहेको छ । गाउँपालिकाले पीडित परिवार तथा घाइतेहरूको उपचार र राहतमा आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।