पर्वतमा लागूऔषध सेवन गरी सवारी चलाउने ४ जना पक्राउ

पर्वत ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गरी सडक यात्रालाई सुरक्षित बनाउने उद्देश्यका साथ सवारी चेकिङलाई तिब्र पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कुश्मा र प्रहरी चौकी देउपुरको सहकार्यमा मोदी गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा उक्त चेकजाँच गरिएको हो। कार्यक्रममा तिलाहार स्वास्थ्य चौकीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

सवारी दुर्घटना न्यूनीकरण गरी चालकहरूको यात्रा सुरक्षित बनाउने उद्देश्यले मंगलबार संचालित उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अभियानमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विजय यादव, मोदी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दीपेन्द्र बहादुर लामिछाने, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बल बहादुर गुरुङ र प्रहरी चौकी देउपुरका प्रहरी नायव निरीक्षक नेत्र बहादुर जिटी लगायतको सहभागिता थियो।

उक्त चेकजाँचका क्रममा संकास्पद १५ जना चालकको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४ जनाले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीका अनुसार  कारबाहीमा परेका चालकहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सवारी साधनसहित सम्बन्धित धनीको जिम्मा लगाइएको छ।

पर्वत प्रहरीले पछिल्लो समय सडक सुरक्षालाई कडाइ गर्दै यस्ता छड्के जाँचलाई तीव्रता दिएको छ। यस अभियानले सवारी दुर्घटनामा कमी आउने र चालकहरू थप जिम्मेवार बन्ने विश्वास लिइएको छ।

#NepalPolice #RoadSafety #

Leave a Reply

Your email address will not be published. Required fields are marked *