पर्वत ।
मोदी गाउँपालिका–२ देउपुरस्थित मिडिल मोदीमा कोरुङ्गा सामुदायिक वन उपभोक्ता समूहले २८ दिनदेखि लगाएको ताला मंगलबार खुलेको छ । रोजगारीलगायतका माग राख्दै सामुदायिक वनले मिडिल मोदी जलविद्युत् आयोजनासँग सम्बन्धित कार्यालयमा लगाएको ताला सहमति र निर्णय कार्यान्वयन सँगै खोलिएको हो ।
स्थानीयलाई रोजगारी उपलब्ध गराउने विषयमा विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै सामुदायिक वन उपभोक्ता समूह चरणबद्ध आन्दोलनमा उत्रिएको थियो । २०८० साल साउनमा गरिएको सम्झौतामा दुई वर्षभित्र स्थानीयलाई रोजगारी उपलब्ध गराउने उल्लेख भए पनि तोकिएको अवधिमा सम्झौता कार्यान्वयन नभएपछि स्थानीयले दबाबमूलक कार्यक्रम अघि बढाएका थिए ।
विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय, पर्वतको समन्वयमा प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीको अध्यक्षतामा सरोकारवालाहरु बीच बैठक भएको थियो । बैठकमा सहायक प्रजिअ गणेश प्रसाद पौडेल, वडाध्यक्ष बेल बहादुर कार्की, आयोजना प्रतिनिधि देबी पौडेल, प्रताप हमाल, कोरुङा सामुदायिक वनका अध्यक्ष डोलिन्द्र बहादुर हमाल र रोजगार सम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो । छलफलपछि स्थानीय चार जनालाई तत्काल रोजगारी दिने, पातिचौर- कोरुङ्गा पदमार्गमा सडक बत्ती जडान गर्ने, आयोजनाले शान्ति सुरक्षाका लागि प्रशासनमा दिएको निवेदन फिर्ता गर्ने र स्थानीयले लगाएको ताला खोल्ने चार बुँदे सहमति भएको हो ।
लामो समयको आन्दोलन पछि सहमति तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धतासँगै २८ दिनदेखि बन्द रहेको आयोजनासँग सम्बन्धित कार्यालयको ताला खोलिएको कोरुंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डोलिन्द्र बहादुर हमालले जानकारी दिनु भयो । अध्यक्ष हमालले भन्नुभयो – ” ढिलै भए पनि सहमति कार्यन्वयन भएको छ । स्थानीयले रोजगारी पाएका छन् । अन्य कामहरु पनि तत्काल पूरा गर्ने प्रतिबद्दता छ । लामो समयदेखि देखिएको रोजगारी र पूर्वाधार सम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । समस्या समाधानमा पहल गर्ने सम्बन्धित सबै पक्षलाई धन्यबाद दिन चाहन्छौं । “
सहमति अनुसार गाउँ पालिकाको केन्द्र पातीचौर देखि कोरूँगा सम्मको पदमार्गमा अधुरो रहेको सडक बत्तीको काम यही असोज मसान्त सम्म सम्पन्न गरिने भएको छ । सम्बन्धित पक्षबीच भएको सहमतिमा स्थानीयलाई रोजगारी उपलब्ध गराउने, आयोजना क्षेत्रमा आवश्यक पूर्वाधार तथा अन्य स्थानीय सरोकारका विषयलाई सम्बोधन गर्दै जाने लगायतका विषय समेटिएका छन् ।
स्थानीयको रोजगारी तथा सामुदायिक वनसँग सम्बन्धित विषयमा यसअघि पनि पटक–पटक सहमति हुँदै आए पनि कार्यान्वयनमा ढिलाइ भएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएपछि स्थानीयले ताला लगाएर आन्दोलनमा उत्रिएका थिए भने आयोजनाले स्थानीय प्रशासन समक्ष शान्ति सुरक्षाको माग गरेको थियो । पछिल्लो सहमतिपछि भने स्थानीयले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।
मोदी खोलामा निर्माण भएका विद्युत आयोजनाहरुले निर्माणको क्रममा स्थानीय बासिन्दाहरू संग गरेका सहमतिहरू विविध कारणले समयमै कार्यान्वयन नगर्दा पटक पटक विवाद सिर्जना हुने गरेका छन् । उक्त आयोजनाको पावर हाउस नजिकैको सडकको बिग्रँदो अवस्था, आयोजनाले स्थानीय वातावरणमा पारेको प्रभाव लगायतका विषय प्रति पनि स्थानीयले गुनासो गर्ने गरेका छन् ।
यस क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेलिरहेका आयोजना र स्थानीय बीचको छलफल, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै आपसी सम्बन्धलाई मजबुद बनाउन सम्बन्धित पक्षहरूले समयमै ध्यान पुर्याउनु पर्ने आवश्यकता देखिएको छ ।