रति खोलामा नदीजन्य बस्तुको अवैध उत्खनन, पुलको सुरक्षामाथि जोखिम

पर्वत ।

पर्वतको मोदी गाउँपालिकास्थित रति खोलामा निर्माण भएको पक्की पुलको आसपास नदीजन्य सामग्रीको अवैध उत्खनन भइरहेको पाइएको छ। पुलको नजिकैबाट नदीजन्य पदार्थ उत्खनन गरी ढुवानी गरिएपछि पुलको सुरक्षा र नदीजन्य पदार्थको अनियन्त्रित दोहनबारे प्रश्न उठेको छ।

रति खोलामा पुलको आसपासबाट लुकी छिपी ढुंगा, गिट्टी तथा बालुवालगायत नदीजन्य सामग्री उत्खनन गर्ने गरिएको छ।  यसरी पुलको आसपासबाट जथाभावी उत्खनन हुँदा पुलको जग र आसपासको भूभाग र बस्तीमा समेत जोखिम बढ्न सक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

मोदी गाउँपालिकाले यसअघि नै जेठमा नदीजन्य निर्माण सामग्री उत्खनन तथा संकलनसम्बन्धी सूचना जारी गर्दै बर्खाको समयमा नदी, खोला तथा बगरबाट जथाभावी उत्खनन नगर्न सचेत गराएको थियो। पालिकाको सूचनाले नदीजन्य पदार्थको उत्खनन तथा निकासीलाई व्यवस्थित गर्न आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पालना गर्नुपर्ने विषयलाई जोड दिएको छ।

तर, पुलको आसपासमै उत्खनन भइरहेको दृश्यले पालिकाको सूचना र नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी नियमको कार्यान्वयनमाथि प्रश्न उठाएको छ। पटक पटक खुलेआम संवेदनशील स्थानहरूबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन भै रहँदा समेत स्थानीय सरकार र प्रशासनको ध्यान  नपुग्दा प्राकृतिक स्रोतको संरक्षणमा प्रश्न उब्जिएको हो।

पक्की पुल स्थानीयको आवागमन तथा यातायातका लागि महत्वपूर्ण संरचना हो। पुलको आसपासमा मापदण्डविपरीत नदीजन्य सामग्री निकालिएमा नदीको बहाव, किनारको स्थिरता तथा पुलको संरक्षणमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

यस विषयमा सम्बन्धित निकायले स्थलगत अनुगमन गरी उत्खननको वैधानिकता, स्वीकृत क्षेत्र तथा परिमाण र पुलको सुरक्षामा परेको सम्भावित असरबारे छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै, मापदण्डविपरीत उत्खनन भएको पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही गरी नदीजन्य स्रोतको दिगो व्यवस्थापन गर्नुपर्ने स्थानियले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *