पर्वत,
जिल्लाको मोदी गाउँपालिकाको क्याङ कर्बाकेली आधारभूत विद्यालयले अचार बिक्रीबाट ५३ हजार रुपैयाँ आम्दानी गरेको छ। विद्यालयले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिता र सहकार्यमा तयार पारेको लप्सी, मुला र टिमुरको अचार बिक्री गरेर उक्त रकम संकलन गरेको हो।
विद्यालयका अनुसार स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गतका शैक्षिक गतिविधिसँगै सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी तयार पारिएको अचार समुदायभित्र तथा आसपासका बजारमा बिक्री गरिएको थियो।
यस अभियानले विद्यार्थीमा उद्यमशील सोच, समूहकार्यको भावना र व्यवहारिक सीप विकासमा टेवा पुगेको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र चापागाईले बताउनुभयो । संकलित रकम विद्यालयको शैक्षिक सामग्री व्यवस्थापन तथा अतिरिक्त क्रियाकलापमा खर्च गरिने बताइएको छ।
स्थानीय अभिभावकहरूले विद्यालयको यस्तो सिर्जनात्मक प्रयासले सामुदायिक सहकार्यलाई थप मजबुत बनाएको प्रतिक्रिया दिएका छन्। विद्यालयले आगामी दिनमा पनि यस्ता उत्पादनमूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको प्रअ चापागाईले जानकारी दिनुभयो ।