काठमाण्डौ ।
सामाजिक सञ्जालमा भ्रामक तथा मिथ्या सूचनाको बाढी आइरहेको छ, यस्ता सूचनालाई जो कोहीले सजिलै पत्याइदिन सक्छन् ।यसबेला चाँड्चाँडो घटनाक्रमहरू बदलिरहेका छन् । र जेनजी आन्दोलनले कसरी अवतरण गर्छ, त्यो पनि अन्योल नै छ । यस्तोमा कसैले केही कुरा सञ्जालमा राखिदिँदा मात्र पनि त्यसले व्यापक ‘रिच’ पाउन सक्छ । किनकि यसबेला सबैलाई के भइरहेको छ ? भन्ने चासो हुन्छ । त्यही चासोका कारण आम मान्छे सजिलै भ्रामक तथा मिथ्या सूचनाको मारमा पर्ने देखिएको छ ।
सञ्जालमा त्यस्तो झुटा खबरहरू फैल्याउनेमा व्यक्तिदेखि सञ्चारगृह सबै परेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरू समेत रहेका छन् । तथ्य प्रमाणित गर्न समय लाग्ने तर खबर चाँडो दिनु पर्ने बाध्यताका कारण यस्तो परिस्थिति सिर्जना भइरहेको हो ।
यसो हुनाले सञ्जालमा अहिलेको सबैभन्दा ठूलो चुनौती भ्रामक तथा मिथ्या सूचनाबाट बच्नु देखिएको छ ।
त्यसका लागि तपाईंले कम्तीमा तलका उपायहरू अनपाउन सक्नुहुन्छ:
१. आधिकारिक स्रोतहरूमा मात्र भरोसा गर्नुहोस्।
समाचारका लागि आधिकारिक मिडिया र सरकारी विज्ञप्तिहरूमा निर्भर रहनुहोस् । किनकि सामाजिक सञ्जालमा फैलिने जानकारी अतिरञ्जत वा झुट हुन सक्छ । उदाहरणका लागि, नेपाल प्रहरीको आधिकारिक फेसबुक अकाउन्ट अथवा कुनै मन्त्रालयको वेबसाइटमा जान सक्नुहुन्छ ।
२. सूचनाको स्रोत जाँच गर्नुहोस्
कुनै समाचार वा दाबी पढ्दा त्यसको मूल स्रोत पत्ता लगाउनुहोस् । कसले भन्यो?, कहाँबाट आयो? जस्ता प्रश्न सोध्नुहोस् । यदि समाचारमा स्रोत उल्लेख छैन वा अस्पष्ट छ भने विश्वास नगर्नुहोस् ।
३. सामाजिक सञ्जालमा सतर्क रहनुहोस्
विशेषत: फेसबुक, एक्स, टिकटक वा इन्स्टाग्राममा भाइरल पोस्टहरू तुरुन्तै सेयर नगर्नुहोस् । फोटो, भिडियो वा स्क्रिनसटहरूको सत्यता जाँच्नुहोस् । गुगल रिभर्स इमेज सर्च जस्ता टुल्स प्रयोग गरेर फोटो स्रोत पत्ता लगाउनुहोस् ।
४. तथ्य जाँच गर्ने बानी बसाल्नुहोस्
नेपालमा उपलब्ध तथ्य जाँच गर्ने विभिन्न वेबसाइट छन् । उदाहरणका लागि, नेपाल फ्याक्ट चेक, फ्याक्ट चेक, टेकपाना फ्याक्ट चेक आदि । तिनीहरू हेरिरहनुहोस् । त्यहाँ फ्याक्ट चेक गर्दाको प्रक्रिया स्पष्ट लेखिएको हुन्छ । सके ती पनि आफूले प्रयास गर्नुहोस् ।
५. अतिरञ्जित हेडलाइनबाट सावधान रहनुहोस्
कुनै पनि कुरालाई अतिरञ्जित गरिएका छन् भने ती बाट सचेत रहनुपर्छ । किनकि त्यहाँ भ्रामक जानकारी हुन सक्छ । यस्ता समाचारलाई तुरुन्तै विश्वास नगरी विस्तृत पढ्नुहोस्।
साभार ; अनलाइन खबर बाट नेपाली