आज नवरात्रिको अन्तिम दिन महानवमी, शक्तिपीठहरुमा घुइँचो

पर्वत ।

यसवर्ष बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ ।

अष्टमी र नवमी एकै दिन परेकाले आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने मान्यता रहेको छ । यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि सहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिन कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ ।

आज पर्वत जिल्लाका दुर्लुङ कोट, पैयु कोट, देउपुर कोट, बाजुङ कोट लगायत विभिन्न शक्तिपीठहरुमा दुर्गा भवानीको पूजा आराधना गरी वाली दिइन्छ । ती शक्तिपीठहरुमा बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *