पर्वत ।
जिल्लाको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ। कुश्मा नगरपालिका– ६ स्थित बान्द्रेविडी चौरमा २०७९ कात्तिकदेखि बसपार्क निर्माण थालिएकाेमा गत असार १५ मा सम्पन्न भएको हो।
सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको बसपार्क सञ्चालनमा भने ढिलाइ भएको छ। सात करोड १५ लाख ३० हजार लागतमा निर्माण भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले गत असारमै बसपार्क सम्पन्न भए पनि स्वामित्व हस्तान्तरणमा ढिलाइ भएकाले सञ्चालनमा आउन नसकेको जानकारी दिए ।
बसपार्क टर्मिनल भवन, यात्रीकक्ष र पसलका लागि सटर निर्माण, रङरोगनलगायत सम्झौतानुसारको काम सकिएको छ। बसपार्कमा साना र ठूला सवारीलाई छुट्टाछुट्टै पार्किङको व्यवस्था मिलाइएको छ। बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरको समेत व्यवस्था गरिएको छ।निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या कायमै रहेको छ । सवारी साधन असुरक्षित ढंगले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ रहेको यातायात व्यवसायीको गुनासो छ ।
कुश्मा बजारबाट दिनहुँ काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्ता लगायत सहरमा सार्वजनिक सवारी साधन छुट्ने गर्छन् भने दैनिक हजारौंको संख्यामा सवारी बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन्।