पर्वत ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पर्वत जिल्लाको भौतिक पूर्वाधार, सडक, पुल र आवास क्षेत्रलाई विशेष प्राथमिकता दिँदै करोडौँ रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारको रातो किताब र एलएमविआईएस (LMBIS) प्रणालीमा प्रविष्ट विवरण अनुसार जिल्लाका विभिन्न ठुला सडक आयोजना, सहरी विकास र पुल निर्माणका लागि बजेट स्वीकृत भएको हो ।
जिल्लाको समग्र विकास समेटिएका मुख्य योजना र रकमको विस्तृत विवरण यस प्रकार रहेको छ:
१. सडक पूर्वाधार र रणनीतिक सडक आयोजना
पर्वत जिल्लाको यातायात पहुँचलाई सहज बनाउन बजेटले सडक स्तरोन्नतिमा ठुलो हिस्सा छुट्याएको छ। जिल्लाको रणनीतिक महत्त्वको पातिचौर-बाजुङ-क्याङ-नागी सडक कालोपत्रे गर्न आगामी आर्थिक वर्षमा १७ करोड ५० लाख (१,७५,००० हजार) रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, जलजला गाउँपालिकाको मोहनेचोक-बाँसखर्क-लेकफाँट-सालिजा सडकका लागि ५ करोड (५०,००० हजार) र फलेवास नगरपालिकाको कार्कीनेटा-मेलपोखरी-शंकरपोखरी-राहाले-जैमिनी सडकका लागि ४ करोड (४०,००० हजार) रुपैयाँ छुट्याइएको छ ।
अन्य महत्वपूर्ण सडक योजनाहरूमा:
- हुवास-लुङ्खु सडक: ३ करोड ७५ लाख (३७,५०० हजार)
- लुङ्खु – मुडिकुवा सडक कालोज्याक स्तरमा स्तरोन्नति: १३.००३ कि.मी. र अर्मादी बनौ सडक कालोपत्रे स्तरमा (१२.८०१ कि.मी.) स्तरोन्नति गर्न रु. २ करोड ५० लाख (२५,००० हजार) छुट्याइएको छ ।
- पातीचौर-मैदान लप्सीबोट सडक: ६४ लाख ४१ हजार
- त्यसैगरी पुनर्लाभ तर्फ म्याग्दीको घारखोला, शिख घोडेपानी सडक र पर्वतको पातिचौर लप्सीबोट सडकका लागि संयुक्त रुपमा ३ करोड बिनियोजन भएको छ ।
- मर्मत सम्भार: जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरूमा नियमित तथा आवधिक सडक मर्मतका लागि ९० लाख (९,००० हजार) रुपैयाँ विनियोजन भएको छ ।
- सडक स्तरोन्नतिका क्रममा निजी घरटहरामा पुग्ने क्षतिको क्षतिपूर्तिका लागि २५ लाख रुपैयाँ व्यवस्था गरिएको छ ।
२. एकीकृत सहरी पूर्वाधार र सहरी विकास
सहरीकरणलाई व्यवस्थित गर्न पर्वतका नगरपालिकाहरूमा विशेष बजेट पठाइएको छ। कुश्मा नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकासका लागि १० करोड (१००,००० हजार) रुपैयाँ विनियोजन गरिएको छ । यसका साथै कुश्मा र ग्यादीका बजार क्षेत्रमा सहरी पूर्वाधार निर्माणका लागि ३ करोड बजेट छुट्याइएको छ ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति र सुरक्षाका लागि कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला र मोदी गाउँपालिकामा हरेक स्थानीय तहका लागि १ करोड ५० लाख (१५,००० हजार) रुपैयाँका दरले बजेट व्यवस्था भएको छ । त्यस्तै, पैंयु, महाशिला र विहादी गाउँपालिकाका सडक स्तरोन्नतिका लागि संयुक्त रूपमा ३ करोड (३०,००० हजार) रुपैयाँ विनियोजन गरिएको छ । फलेवास नगरपालिकाको खानीगाउँ क्षेत्रमा सहरी पूर्वाधार निर्माणका लागि थप ३ करोड रुपैयाँ स्वीकृत भएको छ ।
३. पक्की तथा झोलुङ्गे पुल निर्माण
जिल्लाका विभिन्न खोलाहरूमा पुल निर्माणलाई तीव्रता दिन बजेटले प्राथमिकता दिएको छ।
कुश्मा नगरपालिका-२ र बागलुङको तमानखोला जोड्ने कल्सौदी बन्तरी-चकाली डिल लाम्पाटा झोलुङ्गे पुलका लागि ४ करोड (४०,००० हजार) रुपैयाँ विनियोजन भएको छ ।
अन्य पुल योजनाहरूमा:
- मोदी गाउँपालिकाका झोलुङ्गे पुलहरू: ठाडो खोला (हिले-लम्सालथर), रति खोला (पानी घाट र खरिबोट) मा पुल निर्माणका लागि ३० लाख रुपैयाँ व्यवस्था गरिएको छ ।
- मोटरेबल पुल: बायाटारी-खाल्टे सडक र चिसापानी-मर्दीखोला मोटरेबल पुल (पैंयु-५) , सेती खोला, लितुङ खोलाका लागि ३ करोड (३०,००० हजार) रुपैयाँ विनियोजन भएको छ
- पातिखोला मोटरेबल पुल: मोदी गाउँपालिकाको वडा नं. ३ र ५ जोड्ने पातिखोलामा मोटरेबल पुल निर्माणका लागि ५६ लाख (५,६०० हजार) रुपैयाँ विनियोजन भएको छ ।
४. आवास र स्वास्थ्य पूर्वाधार
सरकारले गरिब र विपन्न नागरिकका लागि विहादी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सरकारले पर्वतको विहादी गाउँपालिकामा ३८० वटा सुरक्षित नागरिक आवास निर्माणका लागि ८ लाख (८०० हजार) रुपैयाँ ससर्त अनुदान विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रतर्फ ठुलोपोखरा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि २० लाख (२,००० हजार) रुपैयाँ बजेट रातो किताबमा समावेश छ ।
रातो किताबमा विनियोजित यी योजनाहरू आगामी साउन महिनादेखि कार्यान्वयन प्रक्रियामा जानेछन् । यी योजनाहरूको सफल कार्यान्वयनबाट पर्वत जिल्लाको यातायात, सहरीकरण र नागरिक जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।