माेदी, पर्वत ।
विजया दशमी २०७९ को पावन अवसरमा आज फूलपातीका दिन देउपुरमा खुला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटीका सरोज शर्मा प्रथम भएका छन् । उनले करिब ८ किलो मिटर दूरी ४० मिनेट २८ सेकेण्डमा पार गरेका हुन् ।
त्यसैगरी मोदी ३ घुरुङ्सेराका प्रकाश बरुवालले सोही दूरी ४२ मिनेट ४७ सेकेण्डमा पार गरी दितीय भएका छन् भने घुरुङ्सेराकै साजन खड्काले ४६ मिनेट ५० सेकेण्डमा सो दूरी पार गरी तृतीय स्थान प्राप्त गरेका छन् । मोदी ५ बाजुङ्का आशिक प्रसाई ठकुरीले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनले उक्त दूरी ४९ मिनेट ४८ सेकेण्डमा पार गरेका थिए ।
देउपुरको पातिचौर बजार देखि कालिका भगवती मन्दिर कोट मैदान सम्म करिब ८ कि.मि लामो खुल्ला .“कालिका भगवती दर्शन धावनउत्सव“ ( लामो दौड प्रतियोगिता ) दिउसो १ बजे शुरु भएको थियो । दिउसोको प्रचण्ड गर्मीका बाबजुद ५० जना धाबकहरुले उत्साहका साथ प्रतियोगितामा सहभागिता जनाएका थिए । सो प्रतियोगितामा ११ बर्षीय बालक जेनिस परियार, एक मात्र महिला सहभागी नान्य गिरी , ६३ बर्षीय बृद्ध भीम प्रसाद चापागाई समेतकाे सहभागिता रहेको थियो ।
देवपूरकोट–भंवरकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा मोदी गाउँपालिका वडा नं २ र ३ को संयुक्त प्रायोजनमा सो प्रतियोगिता भएको थियो । अपूर्व मनोरञ्जनात्मक तथा धावक सम्मान तथा ईतिहास स्मरणस्वरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सो कार्यक्रममा प्रथम ,द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद तथा प्रमाणपत्र सहित गाजाबाजाद्वारा सम्मान गरिएको थियो ।
कोट मैदान परिसरमा आयोजित खेलाडी सम्मान कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा, वडा नं २ का अध्यक्ष बेल बहादुर कार्की, वडा नं ३ का अध्यक्ष देबेन्द्र बहादुर क्षेत्री, वडा नं २ का पूर्व वडाध्यक्ष बिकास तिमिल्सिना, माटो बचाउ अभियानका धाबक नबिन पून, देवपूरकोट–भंवरकोट धार्मिक क्षेत्र विकास समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, खेलाडीहरु, लगायत स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो ।










