पोखरा ।
मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–वाग्लुङ सडक खण्डको कास्कीको अन्नपूर्ण गाउँपालिका पाउँदुरमा पटक पटक सडक अवरुद्ध हुदाँ दर्जनौँ सवारीसाधन अलपत्र हुने गरेका छन् भने हजारौँ सङ्ख्यामा यात्रुले सास्ती पाएका छन् ।
चार वर्षअगाडि भासिएको सो सडक ओम बुद्ध इन्टरनेश्नल निर्माण कम्पनीले ठेक्का पाएको थियो । दोस्रोपटक म्याद थपिदा पनि यही असार ५ गते म्याद सकिएको छ ।

३ करोड ५० लाख रुपियाँको टेन्डर स्वीकृत गरेपनि निर्माण कम्पनीले ३० प्रतिशत भन्दाबढी प्रगाति दिन नसकेपछि मुभिलाइजेसन बापत्को ५ प्रतिशतबाहेक रकम पनि लिन नसकेको मध्यपहाडी राजमार्ग योजना कार्यालय पर्वतका इन्जिनियर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्र्तगत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन् । यता सो निर्माण कम्पनीका इन्जिनियर रबिन बास्कोटाले फाउन्डेसन खन्न समय लागेको र कामदारको अभाव भएकाले समयमा काम सम्पन्न हुन नसकेको बताउनुभयो । सडक निर्माण ढिलो हुने देखिएकाले सडक कसरी सुचारु गर्ने भन्ने बारेमा आवश्यक छलफल गरिएको योजना इन्जिनियर पौडेलले बताउनुभयो ।
काम थालनी गरेकोमा समयमै सम्पन्न नगर्दा सो अवस्थामा आएको हो । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर चन्दले सडक पटक पटक अवरुद्ध हुँदा यात्रुहरुलाई गन्तव्यमा पुग्न कठिन भै रहेको बताउनु भयो ।