नेपाल र पाकिस्तानबीच एसिया कप क्रिकेट शुरू हुँदै

सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ :१५ बजे हुनेछ। एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन्। गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको थियो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन्। बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन्। प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन्।

नेपालले पाकिस्तान विरूद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्ने उल्लेख गरिएको छ।  नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा चर्चामा रहेको  पाकिस्तानसँग खेल्न लागेको हुँदा विश्वभरका खेलप्रेमीहरूले उक्त खेल महत्वका साथ हेरेका छन्।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *