पत्रकारहरुसँग पर्वत प्रहरीको अन्तरक्रिया कार्यक्रम

पर्वत ।

जिल्लामा क्रियाशील पत्रकारहरुसँग पर्वत प्रहरीले आज अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको सभाहलमा  भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख, प्रहरी नायब उपरीक्षक विजय यादवले जिल्लामा शान्ति सुरक्षा कायम गर्नको लागि उच्च मनोबलका साथ प्रहरी परिचालन गरिएको जानकारी दिनु भयो । उहाँले चोरी, डकैती, जुवातास र आपराधिक गतिविधिहरु नियन्त्रणका लागि प्रहरी गस्ती बढाइएको बताउनु भयो ।

डिएसपी यादवले काली गण्डकी दोहन नियन्त्रणका लागि स्थानीय सरकार लगायत सबै सरोकारवाला निकायको साथ आवश्यक रहेको बताउनु भयो ।  देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा प्रहरी र पत्रकार अग्रपङ्क्तिमा खटेर समन्वय र सहकार्यका साथ अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

सो अवसरमा पत्रकारहरुले सामाजिक संजालमा मितव्ययिता, हराएका मानिसहरुको खोजी, लागू औषध, जुवातास तथा अपराधजन्य कार्यहरुको न्यूनीकरणका लागि सुचना संकलन, सम्प्रेषणमा सहकार्य सहित सहजीकरण गर्ने धारणा राख्नुभएको थियो ।

प्रहरी नायव उपरीक्षक विजय यादवले समाजको आवाजको रुपमा रहेका पत्रकारहरुबाट प्राप्त सुझावहरुको उचित सम्बोधन गर्दै अपराधजन्य घट्ना न्यूनीकरण र तथ्यपरक सुचनाको अपेक्षा राख्दै सामाजिक संजालमा आफ्नो लोकेसन पोष्ट गर्दा घरमा चोरी हुन सक्ने हुँदा सचेत रहनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

यसैबीच कारागारबाट अपराधी र कैदी बन्दीहरु भागेको अवस्थामा समाजमा सुरक्षा जोखिम रहेको हुँदा चाडबाडको बेला घर खाली छाडेर नहिँड्न र कोही शंकास्पद व्यक्ति देखा परे आवश्यक सूचना प्रदान गर्न पर्वत प्रहरीले अनुरोध गरेको छ । जिल्लामा सवारी चाप बढिरहेको हुँदा सवारी दुर्घटना हुन नदिन मुख्य सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरी सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

सो कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख , प्रहरी नायब उपरीक्षक विजय यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *