पर्वत।
पर्वत जिल्लामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ८ गतेदेखि सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा सम्पन्न बैठकले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको हो। प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहमा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको सहभागिता रहेको छ। भलिबल, दौड, एथलेटिक्स, कबड्डी, कराँते, तेक्वान्दो लगायतका खेलहरू प्रतियोगितामा समावेश गरिएको छ।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष बुद्ध पुनका अनुसार, प्रतियोगिताका अवसरमा पर्वतमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भई विभिन्न पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान गर्ने निर्णय पनि गरिएको छ। सम्मानित हुने खेलाडीहरूको विवरण संकलनका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारी दिइएको छ। यसैगरी प्रतियोगिता सञ्चालनका लागि विभिन्न खेलका संयोजकहरू तोकिएका छन्। एथलेटिक्स संयोजकमा राजन गुरुङ, भलिबलमा अम्बर पुन, कबड्डीमा सन्तोष पौडेल, कराँतेमा जगबहादुर पुन र तेक्वान्दो संयोजकमा गंगाबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, विवाद तथा समस्या समाधानका लागि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मतिलाल चपाईंको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सदस्य रहने गरी विवाद समाधान समिति गठन गरिएको छ।
आयोजकका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लामा खेलकुदको विकाससँगै खेलाडीहरूलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।