पर्वत ।
मोदी गाउँपालिकाको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम आ.व. २०८२/०८३ अन्तर्गत नियमित खोप सेवामा एच.पि.भी. (HPV) खोप सेवा सञ्चालन सम्बन्धी बहस पैरवी तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय खोप समन्वय समिति, पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा एच.पि.भी. खोपको महत्व, आवश्यकता, लक्षित समूह तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा पाठेघरको मुखको क्यान्सरबाट बच्न एच.पि.भी. खोप अत्यन्त प्रभावकारी हुने भएकाले यसलाई नियमित खोप सेवामा समावेश गर्नु आवश्यक रहेकोमा जोड दिइएको थियो। यस कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूलाई एच.पि.भी. खोप लगाइने जानकारी गराइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले खोप कार्यक्रम सफल बनाउन अभिभावक, विद्यालय, सञ्चार माध्यम तथा समुदायको सहकार्य अपरिहार्य रहेको बताएका थिए। मोदी गाउँपालिकाले आगामी दिनमा एच.पि.भी. खोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लक्षित समूहका सबै विद्यार्थीहरूलाई खोप सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
