मोदी गाउँ पालिकाको करार कर्मचारी हटाउने निर्णयप्रति कर्मचारी संगठनको आपत्ति, निर्णय फिर्ता लिन माग

पर्वत।

मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन पर्वतले सोमवार विज्ञप्ती जारी गरी पेशागत आन्दोलनको मर्म विपरित हुने गरी विभिन्न बहानामा लामो समय देखि कार्यरत कर्मचारीहरु माथि भएको निन्दनिय कार्य तत्काल बन्द गर्दै श्रम ऐनको पालना र श्रमको सम्मान गर्दै फिर्ता लिन आग्रह गरेको हो । संगठनका जिल्ला अध्यक्ष दिपक सुवेदी र सचिब सन्तोष थापाद्धारा जारी विज्ञप्तीमा बर्खास्त गरिएको भनिएका कर्मचारीलाई तुरुन्त काममा फर्काउन माग गरिएको छ ।

गाउँपालिकामा लामो समयदेखि कार्यरत कर्मचारीको बिकल्प मा  पुनः करार कर्मचरी नियुक्त गर्ने सुनियोजित खेल भैरहेको भन्दै यस्तो कार्य संगठनको निम्ति स्वीकार नहुने र उक्त मागलाई वेवास्ता गरेमा जस्तोसुकै परिस्थिति सिर्जना हुन सक्ने चेतावनी समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघीयता कार्यान्वयनको क्रममा तत्कालीन जिल्ला कर्मचारी व्यवस्थापन समितिले गरेको निर्णयअनुसार कामकाजमा अटिएका कर्मचारीहरुलाई विभिन्न बहानामा विना छलफल पदबाट हटाउनु र यसवाट उत्पन्न हुने विषम परिस्थितिप्रति जनप्रतिनिधि र स्थानीय सरकार गम्भिर नहुनु आश्चर्यलाग्दो अवस्था रहेको भन्दै यो समस्याको तुरुन्त समाधानगर्न पनि संगठनले जोडदार माग गरेको छ । गाउँ कार्यपालिकाले एकैपटक ४० भन्दा बढि कर्मचारी हटाउने निर्णय गरेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *