पर्वत ।
हिजाे रातिको अविरल बर्षाका कारण मोदी गाउँपालिका वडा नं २ देउपुर , काफल डाँडामा पहिरो गएको छ । पहिरोले सोही स्थान निवासी रुद्र प्रसाद शर्माको सुन्तला बगैंचा बगाएकाे छ । उक्त पहिरोमा परी करिब छब्बीस रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाकाे बगैंचा समेत पुरिएको छ भने खेतीयोग्य जमीनमा क्षति भएको छ । शर्माको घरको अगाडीको आँगनको भाग पुर्णरुपमा भत्किएको छ भने गोठमा समेत क्षति पुगेको छ । आँगन सहितकाे भाग पहिराेमा परेपिछ घर जोखिममा परेको छ ।

दुई वर्ष पहिले पनि सो स्थानमा पहिरो गई घर जोखिममा परेको थियो । शर्माले भने – “स्थानीय तथा प्रदेश सरकारमा हारगुहार गर्दा समेत कुनै उपाय नभए पछि आफ्नै प्रयासमा लाखौं खर्चिएर रोकथामको प्रयास गरें। तर न पैसा बच्यो न जोखिम टर्यो । ”

गत वर्ष भीरबाट लडेर बिस्तारामा परेका शर्माले आफ्नो दुःख पोख्दै सामाजिक सञ्जालमा भनेका छन् ” हे दैव मलाई अझै कति दुःख दिन्छस्।” व्हील चियरमा बसेर आँगनको पहिरो चियाउदै उनले भने -” पानि पर्दा घर नै बगाउने हों कि भन्ने चिन्ताले सताएको छ । जोखिम मोलेर यही घरमा बसेका छौं । अन्यत्र कहाँ जानु । ”