काठमाण्डौ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ-मुस्ताङमा एक-एक केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुनेछन् ।
यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत पनि निषेध गरिएको छ।