कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४ सय ६५ जना विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) मा परेका छन् ।

यो अघिल्लो वर्षको तुलनामा ९.०२ प्रतिशतले बढी हो । गत वर्ष ५२.१५ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङमा परेका थिए ।

नतिजाअनुसार बाँकी १ लाख ५३ हजार ८ सय ८२ जना ‘ननग्रेडेड’ भएका छन्, जसले तत्काल उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । तर, दुई विषयसम्म ननग्रेडेड भएका विद्यार्थीका लागि आगामी भदौ २८ र २९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

यसअघि सार्वजनिक कक्षा १० (एसईई) को परीक्षामा पनि झण्डै ६२ प्रतिशत विद्यार्थी ग्रेडिङमा परेका थिए, जुन अघिल्लो वर्षको तुलनामा करिब १४ प्रतिशतले बढी हो ।

आंशिक परीक्षार्थीको नतिजा
यसपटक आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० जनाले परीक्षा दिएका थिए, जसमध्ये ४१ हजार ८ सय ४० जना (३६.४९ प्रतिशत) ले मात्र ग्रेड प्राप्त गरेका छन् । बाँकी ७२ हजार ८ सय विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाउने बोर्डले जनाएको छ ।

दुईभन्दा बढी विषयमा ननग्रेडेड विद्यार्थीहरूलाई भने आगामी वैशाखमा हुने वार्षिक परीक्षामै सहभागी हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *