पर्वत ।
सिंगल स्पान प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालिगण्डकी नदीमाथि अर्को लामो पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वत र बाग्लुङ जोड्नेगरी सिंगल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माण गरिएको हो ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्नेगरी चार वर्ष पहिला एक टापुदेखि अर्कोटापु सिधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । ५६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णिम झुला नामाकरण गरेको छ ।
पर्वतको जलजला गाउँपालिका–८ नाङलिबाङ देखि बाग्लुङ नगरपालिका–४ गौरीधामसम्म जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो ।
५२४ मिटर लामो १८५ मिटर अग्लो सिंगल स्पानको बिश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण हिमशिखर हिरा कन्ट्रक्सनले गरिरहेको छ ।
अहिले निर्माण भएको पुलले पर्वत र बागलुङबीचको लामो यात्रा छोटिने छ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषि उपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीयको भनाई छ ।
स्सपेन्सन ब्रिज नेपाल ललितपुरले हिमशिखर हिरा कन्ट्रक्सनलाई कामको जिम्मेबारी दिएको थियो । २०७९ भदौ ४ गते यो पुल निर्माण कार्य थालनी भएको थियो । काम सुरु भएको एक बर्ष भित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ ।
पुल निर्माण गर्न ८ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्यको म्याद झण्डै १ बर्ष बाकी रहेको छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिव ५ आना जग्गा निशुल्क प्रदान गर्नुभएको थियो ।