पर्वत ।
कृषि ज्ञान केन्द्र पर्वत गण्डकी प्रदेशमै सर्वोत्कृष्ट केन्द्र घोषणा भएको छ । प्रदेश सरकारले गण्डकी प्रदेशभरीका सवै कार्यालयको मूल्यांकन गर्दा कृषि ज्ञान पर्वतलाई सर्वोत्कृष्ट कार्यालय घोषणा गरेको हो । गण्डकी प्रदेशमा रहेका ११ वटै जिल्लामा रहेका कृषि ज्ञान केन्द्र मध्ये पर्वत उत्कृष्ट बनेको छ । त्यसैगरी प्रदेश सरकार मातहत रहेका सबै कार्यालयहरु मध्येपनि कृषि ज्ञान केन्द्र पर्वत सर्वोत्कृष्ट रहन सफल भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
जनतालाई प्रवाह गर्ने सेवा, सुविधा, बेरुजुको अवस्था, अन्तर निकाय समन्य, गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन, विगतका केही वर्षहरुको तुलनात्मक मूल्यांकन लगायत जिल्लाको कृषि क्षेत्रमा कार्यालयले गरेको रचनात्मक र समग्र कृषकहरुलाई उत्पादनमा केन्द्रीत गरी जिल्लाको समग्र उत्पादनमा समेत बृद्धि गरिएको लगायतका सुचकका आधारमा पर्वत केन्द्र सर्वोत्कृष्ट हुन सफल भएको हो ।
असाध्य सीमित साधनश्रोतको बीचमा कर्मचारीको लगनशीलता मिहिनेतकै कारण यो कार्यालय प्रदेशमा उत्कृष्ट भएको बरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । उनले आफू पर्वत आएदेखि नै केन्द्रलाई कसरी बढी भन्दा बढी सेवामुखी बनाउन सकिन्छ र कृषकलाई कसरी बढी भन्दा बढी लाभ दिन सकिन्छ भन्ने विषयमा चिन्तित रहिरहने गरेको बताइन् ।
कृषि ज्ञान केन्द्र पर्वतले विगत वर्षहरुको तुलनामा मकै, पोखरेली जेठोबुढो धान, गहुँ र काँक्राको बीउ उत्पादनमा बढी जोड दिएको छ । साथै जिल्लामा रहेका सबै वडाहरुमा माटो परीक्षण गरी सोही अनुसारको बाली लगाउन उत्प्रेरणा दिने तथा कृषकका घरघरमै पुगेर सेवा दिने गरेको छ ।
कृषि विकास निर्देशनालय पोखराका प्रमुख बासुदेव रेग्मीले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमै उत्कृष्ट हुनेमा कार्यालयहरुमा कृषि विकास निर्देशनालय र मातहतका पर्वत, तनहुँ, लमजुङ र मुस्ताङ कृषि ज्ञान केन्द्र रहेका छन् ।