कोदोको रक्सी ‘ब्रान्डिङ’ खोजी गर्दै गण्डकी विश्वविद्यालय

पोखरा ।

घरगाउँमा बनाइने घरेलु रक्सीलाई प्रहरीले जफत गर्दै आएको छ। नेपालमा थुप्रै जाति र समुदायमा घर, व्यवहार र पूजाआजामै रक्सी अनिवार्य भएपनि कानुनी मान्यता नहुँदा बेला-बेला प्रहरीले मिल्काइदिने गरेको छ । पछिल्लो समय दक्षिण कोरियाले स्थानीय रक्सी सुजुको ब्रान्डिङ गरेजस्तै नेपालमा कोदोको रक्सीको ब्रान्डिङ गर्नुपर्ने बहस बेलाबेला हुने गरेको छ।

दक्षिण कोरियाले आफ्नै स्थानीय रक्सी सुजुको ब्रान्डिङ गरेजस्तै सम्भावना नेपाली रक्सीमा पनि छ कि भन्ने खोजी गर्न गण्डकी विश्वविद्यालयले अनुसन्धान थालेको छ। कुलपति प्राडा गणेशमान गुरुङले कोदोको रक्सीलाई ब्रान्डिङ गर्नेबारे अनुसन्धान सुरु गरेको जानकारी दिए। अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कन्फरेन्स प्रोसेडिङ्स विमोचन समारोहमा मंगलबार कुलपति गुरुङले उक्त जानकारी दिएका हुन्।

विश्वविद्यालयले गण्डकीका ५ जिल्लाबाट कोदोको रक्सीको नमुना संकलन गरी गुणस्तर मापन तथा खाद्य विभागको प्रयोगशालामा पठाइसकेको छ। विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाका अनुसार नमुना रक्सीमा कुन-कुन तत्व छन् भन्ने पत्ता लगाउन नमुना पठाइएको अन्नपूर्णलाई बताए। ‘कसरी बनाएको रक्सीले ज्यान लिनसक्छ र कसरी बनाएकाले लिँदैन भन्ने पनि पत्ता लाग्छ, केही महिनाअघि बागलुङमा रक्सी खाएर ७ जनाको ज्यान गयो, त्यस्तो त हुनु भएन नि’ उनले भने।

विश्वविद्यालयले पठाएको रक्सीमा खाद्य विभागको विश्लेषणबाट इथानेल, मिथानेल, कार्बोहाइड्रेड, आर्सेनिक, लिड, मर्करी लगायत के-कति मात्रामा छ भन्ने पत्ता लाग्ने जानकारी डा. तिमिल्सिनाले दिए। ‘विभागले यतियति छ भनेपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार छ कि नाइ भनेर विद्वानहरुले अध्ययन गर्नुहुन्छ,’ उनले भने। रक्सीको मर्चाको विश्लेषण गर्न कृषि विश्वविद्यालय पठाइएको जानकारी पनि तिमिल्सिनाले दिए। मर्चा र रक्सीका तत्व र फर्मुला यकीन गर्ने विश्वविद्यालयको अनुसन्धानको उद्देश्य रहेको उनको भनाइ छ।

रजिस्ट्रार तिमिल्सिनाले रक्सीको सामाजिक पाटोको बारेमा पनि अध्ययन अनुसन्धान गर्ने सुनाए। कोदोको रक्सीको फर्मुला, मर्चाको फर्मुला र तिनका स्वास्थ्य, सामाजिक र आर्थिक लगायत पाटोको अनुसन्धानपछि प्याटेन्ट राइट दर्ताको प्रक्रिया अघि बढाउने जानकारी दिए।

विश्वविद्यालय पठनपाठनसँगै अनुसन्धानमा केन्द्रित हुनुपर्ने भन्दै गण्डकीले हालै अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो। त्यही कार्यशालामा बेलायत, कोरिया, अमेरिका, काजाकास्तान र नेपाल लगायत देशका विज्ञले प्रस्तुति दिएका थिए। उनीहरुले विश्वमा अहिले चलिरहेको उच्च शिक्षाको तौरतरिका र नेपालमा दिनुपर्ने शिक्षाबारे लेखेका खोजमूलक आलेख उक्त किताबमा छन्।

विमोचनपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले पहिचान झल्काउन जरुरी छ भन्ने विचारले प्राथमिकता पाएपछि विश्वविद्यालय स्थापना भएको स्मरण गरे। मुख्यमन्त्री पोखरेलले मेडिकल कलेज चलाउन ध्यान दिन आग्रह गरे। उनले भने, ‘हाम्रो प्रडक्स विश्वबजारमा खोसाखोस हुनुपर्छ, तबमात्रै यसको उपादेयता हुन्छ।’

विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले गण्डकीका उत्पादन विश्वस्तरीय हुनुपर्ने सुझाए। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले छोटो अवधिमा गण्डकी विश्वविद्यालयले राम्रा उपलब्धि हाँसिल गर्न सकेको विचार व्यक्त गरे।

उपकुलपति प्राडा नवराज देवकोटाले पाठ्यक्रम तर्जुमा, विनियम निर्माण र आवश्यक कर्मचारी भर्ना लगायत काम गरी पठनपाठन सुरु गरिसकेको जानकारी राखे। छात्रवृत्तिमा पढाउनुपर्ने विद्यार्थीका लागि आवश्यक खर्चका लागि विश्वविद्यालले अप्ठेरो सामना गर्नुपरेको उनले सुनाए। अधिकृत डोलराज सुवेदीले विश्वविद्यालयका गतिविधिबारे जानकारी गराए।

अन्रपूर्ण पाेस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *