पर्वत ।
साउन २४ गते राति परेको अबिरल बर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरस्थित दोबाटा को बस्ती नै जोखिममा परेको छ । विगत केही वर्ष देखि शुरू भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगे पछि पाँच घर परिवार जोखिममा परेका हुन् ।
पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षति ग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा सर सामानहरु सुरक्षित स्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरा समेत निर्माण गरिएको छ ।
केही वर्ष पहिले देखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा वर्षेनी झनै बढ्दै गएको र जोखिम बढी रहेको स्थानियहरुले गुनासो गरेका छन् । गत वर्ष सोही पहिरोको कारण गाउँ पालिकाको केन्द्र देखि वडा नं १, २,३, र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्ण रूपले अवरुद्ध भएको थियो । पातीचौर देउपुर लप्सी बोट सडकको कोरुङ्गा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ । यस वर्ष पनि सो सडक पूर्ण रूपले अवरुद्ध छ ।
गाउँ पालिकाको केन्द्र जोड्ने मुख्य सडक नै अवरुद्ध भए पछि स्थानियहरुले निकै सास्ती बेहोर्नु परेको छ । अन्य वैकल्पिक सडकहरू समेत मर्मत सम्भार नहुँदा आवत जावतमा निकै समस्या परेको छ। विकल्पको रूपमा रहेको बेतेनी गौंडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाई भएको छ भने नयाँपुल मख ठूली पोखरी सडक पनि ठाउँ ठाउँमा पहिरो गएर क्षति ग्रस्त भएको छ ।
वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अब्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएको कारण ग्रामीण भेगका सडकहरू निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीयहरु बताउँछन् ।


