पैंयूमा गुणस्तरिय शिक्षाको लागि नमुना विद्यालय संचालन गरिने

पर्वत ।

पर्वतको पैयूँ गाउँपालिकाले शैक्षिक सुधारको लागि नमुना विद्यालय संचालन गर्ने भएको छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८० साल देखि नमुना विद्यालय संचालन गरेर विद्यार्थीहरुलाई पैयूँमा नै गुणस्तरिय शिक्षा दिने भएको हो ।

गाउँपालिकाले शैक्षिक सुधार योजना अन्तर्गत यस वर्ष अंग्रेजी माध्यमको एउटा नमुना विद्यालय सञ्चालन गर्ने र त्यसलाई क्रमागत रुपमा बिस्तार गर्दै जाने जनाएको छ । नमुना विद्यालय संचालनको लागि गाउँपालिकाले माध्यमिक विद्यालयलाई प्रस्ताव पेश गर्नका लागि सूचना प्रकाशन गरेको छ ।

गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षा प्रति अभिभावकहरुको आकर्षणलाई मध्यनजर गरी नयाँ वर्ष देखी सबै विद्यालयमा कक्षा नर्सरी, केजि र कक्षा १ मा अनिवार्य रुपमा अंग्रेजी माध्यम बाट पठनपाठन गराउने व्यवस्था मिलाउने कुनै एक विद्यालयमा कक्षा २ देखी ९ सम्म अंग्रेजी माध्यमबाट नमुनाको रुपमा पठनपाठन सुरु गर्ने योजना अगाडी सारेको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनु भयो ।

सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुरुपको, प्रतिस्पर्धी बनाउने उद्देश्यले गाउँपालिकाले सर्वपक्षिय छलफल समेत गरेका अध्यक्ष मल्लले बताउनु भयो ।

यस अगाडी नै गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट जनप्रतिनिधी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति पास गरिसकेको छ । यसको कार्यान्वयनका लागि गाउँपालिकाले छलफल, परामर्श र तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *