जनैपूर्णिमामा सहस्रधारामा भक्तजनको घुइँचो, विशेष पूजा–आराधना सम्पन्न

पर्वत ।

मोदी गाउँपालिका–४, लेस्पारस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक तीर्थस्थल सहस्रधारामा जनैपूर्णिमाको अवसरमा विशेष पूजा–आराधना सम्पन्न भएको छ। पवित्र जलधारामा स्नान तथा पूजा गर्न अघिल्लो दिन देखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।  जनै पूर्णिमाको अघिल्लो मध्य राति देखि शुरु हुने पूजामा बर माग्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको थियो ।

भिरको चट्टानबाट अनगिन्ती साना–साना जलधारा प्राकृतिक रूपमा बग्ने भएकाले यस स्थानलाई ‘सहस्रधारा’ नाम दिइएको हो। धार्मिक आस्थाले भरिएको यस स्थलमा स्थानीय तथा आसपासका क्षेत्रबाट समेत श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पुग्ने गरेका छन्।

स्थानीय जनविश्वासअनुसार सहस्रधारा पुगेर बराह–बरानीसँग आफ्नो मनोकामना मागेमा तथा आँटेको कुरा पूरा हुने विश्वास रहिआएको छ। यही आस्थाका कारण विभिन्न अवसरमा भक्तजनहरू यहाँ पुगेर बराह–बरानीको पूजा गर्दै आफूले चाहेको कुरा पूरा होस् भनी भाकल तथा प्रार्थना गर्ने गरेका छन्।

यस धार्मिक स्थलमा स्थानीय मगर समुदायका पुजारीले परम्परागत विधिअनुसार पूजा–आराधना गर्दै आएका छन्। पुस्तौँदेखि चलिआएको यो धार्मिक तथा सांस्कृतिक परम्पराले सहस्रधाराको मौलिक पहिचानलाई समेत जीवन्त राखेको छ।

जनैपूर्णिमाका दिन सहस्रधारामा पुगेका श्रद्धालुहरूले पवित्र जलमा स्नान गरी भगवान् शिव, गङ्गा माता तथा बराह–बरानीको पूजा–आराधना गरेका थिए। साथै धार्मिक परम्पराअनुसार सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गरेका थिए।

प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अनुपम संगमका रूपमा रहेको सहस्रधारा पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको छ। चट्टानबाट निरन्तर झर्ने निर्मल जलधारा, हरियाली वातावरण र स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराले यस क्षेत्रको महत्व थप बढाएको छ।

पछिल्लो वर्षहरुमा सहस्रधाराको व्यवस्थित संरक्षण, प्रचार–प्रसार र आवश्यक पूर्वाधार विकासको प्रयास भई रहेको छ । मन्दिर सम्म पुग्ने व्यवस्थित पद मार्ग, विद्युत लगायतका पूर्वाधारहरू निर्माण भइसकेका छन् । लेस्पार गाउँमा होम स्टेको व्यवस्था रहेको छ भने नजिकै पाटी पौवाहरुको मर्मत सम्भार गरिएको छ ।

जनै पूर्णिमामा ठूलो संख्यामा भक्तजनहरु आउने भएकोले सो क्षेत्रमा अझै पनि बास बस्न कठिनाइ हुने गरेको छ । भक्तजनहरुका लागि व्यवस्थित बसोबासको प्रबन्ध गर्ने, पहुँच मार्गहरूको स्तरोन्नति गर्ने, प्रचार प्रसार गर्ने जस्ता कार्यहरू गर्न सके  यस क्षेत्रलाई पर्वतको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने प्रशस्त सम्भावना रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *