जलजलामा एक हल गोरु पाल्ने किसानलाई १५ हजार अनुदान

पर्वत ।

बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो।

स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ । कृषिमा यान्त्रिकिकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा पारेकाले गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो । मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले किसनाले खेती लगाउन नै छोड्ने स्थिति देखिएकाले गोरु पाल्ने किसनालाई प्रोत्साहन गर्न अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ । सो अनुसार हलगोरु पाल्ने किसानलाई रु १५ हजार अनुदान दिइने भएको छ ।

स्थानीय गाईगोरु पाल्ने किसानको सङ्ख्या वृद्धि गर्न तथा गाईगोरु पालेका किसानको क्षति कम गर्नका लागि गाउँपालिकाका चार सय गाईगोरुका लागि निःशुल्क पशु बीमा गर्ने योजना पनि सँगसँगै लागू गर्ने गाउँपालिकाको तयारी रहेको र यसका लागि कूल रु तीन लाख छुट्याइएको पालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *