पर्वत ।
जिल्लाको जलजला गाउँपालिकामा यही मङ्सिर ७ र ८ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
गाउँ पालिकाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको शिक्षा शाखाका अधिकृत त्रिविक्रम आचार्यले जानकारी दिनु भयो।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुने विद्यालयहरुले मङ्सिर ६ गतेभित्र कार्यालय समयमा प्रतियोगी बिद्यार्थिहरुको नाम दर्ता गराउनु पर्नेछ ।
प्रतियोगितामा छात्र/छात्रा भलिबल, छात्र/छात्रा कबड्डी, एथलेटिक्समा छात्र/छात्रातर्फ एक सय मीटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटरको दौड, रिले दौड, हाईजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याब्लीङ थ्रो, सटफुट थ्रो, १२ पाउन्ड, कराँते लगायतका खेलहरु समावेश गरिएका छन् ।
विद्यालयले प्रतियोगी बिद्यार्थीहरुको फोटो सहित अनुसूची–१ को फाराम भर्नुपर्ने, ईमिस र जन्म दर्ताको प्रमाण पत्र संलग्न हुनुपर्ने, प्रतियोगी विद्यार्थी १८ वर्ष ननाघेको हुनुपर्ने, कबड्डीतर्फ छात्र ७० केजी भन्दा मुनी र छात्रा ६५ के.जी. भन्दा मुनीको हुनुपर्ने, एथलेटिक्स खेलतर्फ एक जना खेलाडीले ट्रयाक दौडतर्फ दुई वटा ईभेन्ट्स र फिल्डतर्फ एउटा ईभेन्ट् भाग लिन सक्ने अथवा फिल्डतर्फ दुई वटा ईभेन्टस् र ट्रयाकतर्फ एउटा ईभेन्टसमा भाग लिन सक्ने भनिएको छ ।
खेलाडीहरुले जर्सी अनिवार्य लगाउनुपर्ने तथा सहभागी बिद्यालयको तर्फबाट राष्ट्रिय झन्डा अनिवार्य लिएको हुनुपर्ने पनि शर्त राखिएको छ । प्रतियोगिता जलजला गाउँपालिका–३ बिद्याज्योति माध्यामिक बिद्यालय माझफाँटको खेल मैदानमा आयोजना गरिने गाउँ पालिकाले जानकारी दिएको छ ।