पर्वत ।
जिल्लाको जलजला गाउँपालिकाले वार्षिक परीक्षा २०८२ को समग्र नतिजा विश्लेषण गरेको छ। बैशाख १० गतेदेखि १२ गतेसम्म तीन दिनसम्म पालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक तथा विषयगत शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा समग्र नतिजा, विषयगत उपलब्धि, औसत सिकाइ उपलब्धि तथा गत वर्ष र यस वर्षको नतिजाबीच तुलनात्मक समीक्षा गरिएको थियो। विश्लेषणअनुसार, गत वर्षको तुलनामा यस वर्ष समग्र सिकाइ उपलब्धिमा २ प्रतिशतले गिरावट आएको देखिएको छ, जसले शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई चिन्तित बनाएको छ।
यस वर्षको नतिजाअनुसार माध्यमिक तहमा विद्याज्योती माध्यमिक विद्यालय मल्लाज, सालिजा माध्यमिक विद्यालय र बनौ माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन्। यस्तै आधारभूत तहतर्फ मालिका, लुङ्दी र शान्ती आधारभूत विद्यालय उत्कृष्ट देखिएका छन् भने प्रारम्भिक तहतर्फ जनता, दिनकल्याण र युवा प्राथमिक विद्यालयले राम्रो नतिजा ल्याएका छन्।