पर्वत ।
पर्वत जिल्लामा सञ्चारमाध्यमहरूको वर्तमान अवस्था, चुनौती, अवसर तथा भावी रणनीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश को आयोजना तथा नेपाल पत्रकार महासंघ पर्वत को समन्वयमा आयोजित कार्यक्रममा स्थानीय मिडियाको दिगोपन, आर्थिक संकट, डिजिटल रूपान्तरण र नीतिगत सहयोगका विषयमा छलफल गरिएको हो।
कार्यक्रममा प्रेस रजिष्ट्रार विमला भण्डारी ले जिल्लास्तरका सञ्चारमाध्यमको वास्तविक अवस्था बुझेर आवश्यक नीति तथा योजना निर्माण गरिने बताउनुभयो। सहभागी मिडिया उद्यमी तथा पत्रकारहरूले स्थानीय सञ्चारमाध्यम जोगाउन सरकारको दीर्घकालीन सहयोग, अनुदान, तालिम र प्राविधिक सहकार्य आवश्यक रहेको धारणा राखे।
मिडिया अनुसन्धानकर्ता मधु आचार्य र डा. भुमिराज चापागाई ले डिजिटल युगअनुसार पाठक–दर्शकले चाहेको कन्टेन्ट उत्पादन, विश्वसनीयता कायम र सामाजिक सञ्जालसँगको प्रतिस्पर्धालाई अवसरमा बदल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा आगामी बजेट, नीति तथा कार्यक्रममा समेटिनुपर्ने सञ्चार क्षेत्रका सुझावसमेत संकलन गरिएको थियो।
