
पर्वत : नाम गणेश जिसी, घर जुम्लाको सिञ्जा गाउँपालिका–३ नराकोट, उमेर २९ वर्ष। विदेशमा गएर अर्कैका लागि रगत खर्चिनुभन्दा आफ्नै देशका विभिन्न ठाउँ घुम्दै थोरै कमामा खुसी हुने युवा हुन् उनी। डुल्दै व्यापार गर्दा कमाई नै नहोस्, कम्तीमा पनि आफ्नो देशको भू–भाग देख्न पाए पनि खुसी हुन्छन् उनी।
गणेशको दैनिकी भनेको सिजनअनुसार फाइबर सिरक, तन्ना, कोट, गलैँचालगायतका सामग्री बेच्दै हिँड्नु हो। त्यसमा पनि चाडबाडको बेला उनका लागि विशेष हुन्छ। घुमुवा व्यापार गर्ने जुम्लाका अन्य धेरैलाई पनि यही बेलाको महत्त्व विशेष छ। जुम्लाका धेरै युवा तथा पाका पुरुष देशका विभिन्न जिल्लामा पुगिरहेका हुन्छन्।
कमजोर आर्थिक अवस्था भएका कारण चाडबाड मनाउन र त्यसबाहेकको समयमा पनि दैनिक जोहोका लागि आफू विभिन्न जिल्लामा पुग्दै आएको गणेशले बताए। उनको बुवाको पनि घुम्ती व्यापारी नै हुन्। बिहे गरेर पठाएका दिदीबहिनीबाहेक ६ जनाको परिवार धान्न र चाडबाडलाई खर्च जुटाउन गणेश तयारी कपडा (कोट) बेच्न जुम्लादेखि पर्वतसम्म आएका हुन्।
‘क्या गरूँ त हजुर बुवा पनि यसरी नै डुल्या डुल्यै हो, म पनि कोट बेच यहाँ आइपुग्या छु। अहिले कोटको व्यापार राम्रै भयो, यतातिर यो कोटको फेसन रहेछ, मेरो सामान राम्रै कट्यो‚’ उनले भने, ‘अहिले जम्मा पारेको पैसा लिएर अब दशैं मनाउन जुम्ला जान्या हो। बुवा नि फर्किनुहुन्छ। चाडबाड त रमाइलो बनाउनुपर्छ।’
चार वर्षदेखि घुमुवा व्यापारीको रूपमा आर्थिक उपार्जनको बाटो समात्दै आएका उनले पोखरामा कोठा भाडामा लिएर सामान भण्डारण गर्ने र त्यहीँबाट गण्डकीका विभिन्न जिल्लामा घुम्दै आएका छन्। ‘गरी खाने छोराले लाज मान्नै हुन्न’ भन्ने उनले आफ्नो काममा खुब गर्व गर्छन्। बेरोजगारी कोही भेटे आफूजस्तै घुमेर व्यापार गरे कमाई राम्रै हुने सुझाव पनि दिन्छन्।
विद्यालयमा पढ्दा शिक्षकले भविष्यमा के बन्ने भनी प्रश्न गर्दा ‘बिजनेशम्यान’ भनी बताएका उनी अहिले ‘बिजनेश’मा त छन्। तर‚ शिक्षकलाई बताउने गरेको जस्तो भने होइन।

‘भविष्यमा के हुने विचार छ? भनेर सरले सोध्दा बिजनेशम्यान हुन्या हो सर भन्थेँ। अहिले बिजनेसम्यान त भया हुँ तर भनेको जस्तो त भएन‚’ उनले भने, ‘अझै केही वर्ष डुलुँला, अलिकति पैसा जम्मा होला अनि केही न केही लगानी गरेर नडुलीकनै एकै ठाउँमा स्टेसनमा बसेर व्यापार गरुँला सोचेको छु।’
जुम्लातिर के पढ्ने हो? भन्दा नेपाली र साइन्स भन्ने जवाफ आउने भएकाले कमर्स पढेपछि व्यापारलाई सजिलो हुन्छ भन्ने थाहा नभएको भन्दै उनले जानी नजानी कमर्समा छिरेपछि व्यापारबारे धेरै थाहा पाएको बताए।
बर्खा याममा खासै व्यापार नहुने भए पनि मंसिर, पुस र माघमा बढी व्यापार हुन्छ। जो बढी घुमेर ग्राहकलाई चित्त बुझाउँदै सामान बिक्री गर्छन् उनीहरूले वार्षिक पाँच लाख रुपैयाँसम्म बचत गर्न सक्ने गणेशको अनुभव छ। साहुसँग व्याजमा ऋण लिएको पैसालाई सदुपयोग गरे नेपालमा भोकै मर्न पर्ने अवस्था नआउने उनको बुझाइ छ। तर नेपालमा केही पाइएन भन्दै विदेश हानिएकाहरू देख्दा उनलाई उदेक लागेर आउँछ।
आफूलाई विदेश जाने रहर कहिल्यै नलागेको बताउने गणेशले अर्काको देशमा गएर महिनाको ४० हजार रुपैयाँ कमाउनभन्दा थोरै कमाएर आफ्नै देशमा घुम्नुमा आनन्द आउने बताउँ५न्। ‘यहाँ म आफ्नै अधीनमा छु, विदेशमा अर्काको अधीनमा बस्नुपर्छ। यहाँ खुल्ला मनले गर्न पाइन्छ, तर विदेशमा बिरामी हुँदा पनि बिदा मिल्दैन‚’ उनले भने, ‘विदेशमा भएको भए म दशैंको टीका थाप्न जान्छु भनेर मालिकले हिँड्न दिन्थ्यो र? अब त म चार दिनमा घर पुग्या हुन्छु।’
बिक्रीको लागि ल्याएका सामग्री सकेर उनी जुम्ला प्रस्थानको तयारीमा छन्। तिहार लगत्तै फेरि व्यापारका लागि आउनेछन्। नेपालगन्जबाट जहाजमा जाँदा धेरै खर्च हुने भएकाले नेपालगन्जबाट सानो गाडीमा दुई हजार रुपैयाँ तिरेर जुम्ला पुग्ने उनको योजना छ। कर्णाली प्रदेशका सडक अग्ला भीरमा पर्ने भएकोले दुर्घटनाको जोखिमका कारण प्रहरीले राति सवारी चल्न नदिने बताउँदै उनले विगत सम्झिँदै जोखिमको जिन्दगीबारे बताए।
‘हाम्रो जिन्दगी त मुठीका भरका हुन्, कालीकोटको बाटोमा सातै गइजान्छ। गाडी खसे कोही बाँच्दैन, पहिले पहिले धेरै मरे‚’ गणेश भन्छन्, ‘दुर्घटना हुन्छ भनेर रातिमा प्रहरीले गाडी चल्न दिँदैनन्, यताबाट समय अड्कलेर दिउँसोमा घर पुग्ने गरी जान लाग्या छु।’
थाहाखबर बाट साभार