नयाँ सरकार गठनको लागि राष्ट्रपति कार्यालयले दिएको समय आज सकिँदै

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गर्नु भएको थियो।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गर्नु भएको हो  ।

सत्ता गठबन्धनमा अझै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले दाबी गरिरहेका छन् । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटे पनि पनि पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा विवाद कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *