नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न युनेस्को तयार, प्राथमिकता तोक्न आग्रह

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ। सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो। युनेस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका थिए।

‘नेपाल प्राकृतिक एवम् सांस्कृति हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने, ‘हामी नेपालमा काम गर्न आएका हौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस्।’

नेपाल सरकार र मन्त्रालयसँग सहकार्य गरी शिक्षा क्षेत्रमा काम गर्न इच्छुक रहेको क्राफ्टले बताएका थिए।  मन्त्री पौडेलले युनिस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको बताए।

‘दुईपक्षीय छलफल गरेर ठोस कार्यक्रम तयार गर्छौं’ मन्त्री पौडेलले भने, ‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रमसहित सहकार्य गर्न तयार छ।’

मन्त्री पौडेलले शिक्षा नै सबै ढोका खोल्न माध्यम भएकाले युनेस्कोलाई लगानी गर्न आग्रह गरे। काठमाडौंको गोकणेश्वर नगरपालिका–४ मा युनेस्कोग्राम, संग्राहलय बनाउने काम भइरहेको विषयमा मन्त्री र माइकलबीच छलफल भएको छ।

भेटवार्तामा युनेस्कोका शिक्षा अधिकृत डा. बलराम तिमिल्सेना, युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीलगायत प्रतिनिधिको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *