नेपाल खुला विश्व विद्यालय आठ महिनादेखि उपकुलपति बिहिन

 

काठमाडौँ ।

सरकारले नेपाल खुला विश्वविद्यालय (एनओयू) को उपकुलपति नियुक्ति नगर्दा ३ हजार ५ सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । पुस दोस्रो साता गोविन्दसिंह विष्टलाई कुलसचिव (रजिस्ट्रार) नियुक्त गरे पनि उपकुलपति र डिन रिक्त रहेकाले विश्वविद्यालयको सिनेट बस्न सकेको छैन ।

विश्वविद्यालयले डिप्लो, स्नातक, पोस्ट ग्राजुएट डिप्लोमा, मास्टर्स र एमफिलका कोर्स पढाउँदै आएको छ । पदाधिकारी नहुँदा अध्ययनरत ३ हजार ५ सय विद्यार्थीको पठनपाठनमा समेत बाधा पुगेको छ ।

शिक्षाविद् केदारभक्त माथेमाले सरकारले अविलम्ब उपकुलपति नियुक्त गर्नुपर्ने बताए । ‘विश्वविद्यालयलाई अन्योलमा राख्ने होइन,’ उनले कान्तिपुरसँग भने, ‘त्यो संस्थामा पढ्ने विद्यार्थीको भविष्यमा खेलबाड गर्नु हुन्न ।’

विश्वविद्यालयका तीन संकाय छन् । गत भदौमा दुई जना डिनको पदावधि सकियो भने निमित्त उपकुलपतिको समेत पदभार सम्हालेका डिन इन्द्र कार्कीको यही पुस मसान्तमा पदावधि सकिँदै छ । ‘जेठदेखि निमित्त उपकुलपति सम्हाल्दै आएको छु तर सिनेट बस्न सकेको छैन,’ आफ्नो कार्यकाल करिब दुई साता मात्र बाँकी रहेको उल्लेख गर्दै कार्कीले भने, ‘कुलसचिव नियुक्ति भए पनि तत्काल समस्यालाई निकास दिन सकिन्न ।’विश्वविद्यालयको उद्देश्यप्राप्तिका निम्ति कार्ययोजना बन्न बाँकी रहेको उनले जनाए ।

यसअघि ३२ जनाले तहगत परीक्षा उत्तीर्ण गरे पनि सिनेट बस्न नसक्दा अहिलेसम्म ट्रान्सक्रिप्ट र सर्टिफिकेट पाउन सकेका छैनन् । एनओयुको नियमानुसार परीक्षा सञ्चालन कार्य भौतिक रूपमा गर्नुपर्छ । ‘मुस्किलले अनलाइनबाट परीक्षा सञ्चालन गर्‍यौं र अहिले पुसभरि जाडो बिदा दिएका छौं,’ निमित्त उपकुलपति कार्कीले भने, ‘सिनेट बस्न नसक्दा कामचलाउ बजेटमात्र छ । शिक्षक, कर्मचारीले बढेको तलब पाएका छैनन् ।’

एनओयूमा प्राध्यापक ३, सह–प्राध्यापक ३, उपप्राध्यापक १२, सहायक प्राध्यापक ९ र कोर्स करारका गरी १ सय ५० जना प्राध्यापनरत छन् । त्यसैगरी कर्मचारीतर्फ शाखा अधिकृत ४, कार्यालय मुख्य सहायक ६, कार्यालय सहायक ३ र सवारी चालक ६ जना छन् । नवनियुक्त कुलसचिव विष्टले भर्खर मात्र पदभार ग्रहण गरेको उल्लेख गर्दै विश्वविद्यालयको नियमित कामबारे जानकार नरहेको बताए । ‘निमित्त उपकुलपतिको कार्यभार सम्हाल्दै आउनुभएका डिनको पदावधि सकिँदै छ,’ उनले भने, ‘तुरुन्तै विश्वविद्यालय सभा बस्न सक्ने स्थिति छैन । त्यसनिम्ति सरकारले उपकुलपति र डिन नियुक्त गरेपछि मात्र सबै काम अघि बढ्न सक्छ ।’

केपी शर्मा ओली सरकारले शिक्षामन्त्रीको संयोजकत्वमा एनओयूको उपकुलपति छनोट समिति गठन गरेको थियो । उक्त समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा शिक्षाविद् प्राध्यापक मनप्रसाद वाग्ले, डिन इन्द्र कार्की र पूर्वडिन शीलु बज्राचार्य थिए तर सरकारले आठ महिना बितिसक्दा पनि उपकुलपतिमा नियुक्ति गरेन । उपकुलपति नियुक्त भएपछि मात्र डिन नियुक्तिको बाटो खुल्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *