पर्वत ।
मोदी गाँउपालिका ३ देउरालीको आयोजनामा भएको तीन दिने युवा खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । लालरुपा भ्यु टावर र राजन गुरुङको सहयोगमा आयोजना गरिएको कार्यक्रम शनिवार सम्पन्न भएको हो जसमा युवा भलिवल तर्फ पुणगाँउ प्रथम र द्वितिय ,लाङ्गदी तृतीय भएका छन भने प्रौढ खेल तर्फ प्रथम घुरुङ्गा र लाङ्दीले द्वितीय स्थान हात परेको छ। वडाले महिलाहरुको लागि लठ्ठा तान्ने प्रत्योगिताको पनि आयोजना गरेको हो।सँगसँगै लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिंदै वडाले बाजा हस्तान्तरण गरेको छ ।
मोदी गाँउपालिका वडा नं ३ देउरालीले बिबाह, ब्रतबन्ध तथा अन्य शुभकार्यहरुमा बजाईने लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्नका लागि बाजा हस्तान्तरण गरेको हो ।
आँफूहरुले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भईरहेका बेला वडा कार्यालयले बाजा उपलब्ध गराईदिदा बाजा समुहले खुसी व्यक्त गरेका छन । समापन समारोहका प्रमुख अतिथि तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै लोकोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस् र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै ब्यवसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । बाजा समूहहरुलाई सहनाई, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमति पञ्चेबाजा हस्तान्तरण गरिएको हो ।
