पत्रकार महासंघ पर्वतमा तालाबन्दी

पर्वत ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।पत्रकार महासंघको गण्डकी प्रदेश समितिले सदस्यता शुद्धिकरणको नाममा जिल्लाका अधिकांस क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने निणर्य गरेको भन्दै बुधवार जिल्लामा सक्रिय तीन संगठनले तालाबन्दी गरेका हुन् ।

जिल्ला शाखाले सर्वसहमत गरेको निर्णय माथि प्रदेश कमिटिले हस्तक्षेप गरेको संगठनहरुको आरोप छ । गण्डकी प्रदेश कमिटिले शुद्धिकरणको मापदण्ड विपरित पत्रकारिताको मर्मलाई कुल्चिने कार्य गरेको भन्दै पत्रकार निकट संगठनहरुले यस अघि देखि नै विरोध जनाउदै आएका छन् ।

प्रेस चौतारी पर्वत, प्रेस यूनियन पर्वत र समाजवादी प्रेस संगठन पर्वतले तालाबन्दी गरेका हुन् । प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण अखेली, प्रेस यूनियनका अध्यक्ष उत्तम अधिकारी, समाजवादी प्रेस संगठनका गण्डकी प्रदेश संयोजक गणेश पौडेलले संयुक्त रुपमा कालो ब्यानर टाँगेर तालाबन्दी गरेका हुन ।

नयाँ र पुराना गरी ५५ सदस्य रहेको पर्वत शाखामा २० जनाको सदस्यता खारेज गरिएको थियो । राष्ट्रिय तथा स्थानीय सञ्चार माद्यममा नियमित कार्यरत, सम्पादक, स्टेशन म्यानेजर जस्ता व्यक्तिहरुकै सदस्यता खारेज भएपछि तालाबन्दी गर्नुपरेको प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीले जानकारी दिए ।

क्रियाशिल र सक्रिय पत्रकारहरुको पेशागत मर्यादा र सुरक्षा विपरित भएको भन्दै उक्त निणर्य तत्काल सच्याउनुपर्ने समाजवादी प्रेस संगठन गण्डकी प्रदेश संयोजक गणेश पौडेलले बताए । उक्त निणर्य नसच्चिएसम्म ताला नखोलिने र थप आन्दोलनका कार्यक्रम गर्दै जाने उनले बताए ।

उता पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पत्रकार महासंघका सदस्यहरु राजनीतिक दलको कार्य समितिमा रहेकाे, स्थायी शिक्षक तथा कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी रहेको पाइएकोले उजुरीका आधारमा अध्ययन गरी सदस्यता नवीकरण नगरिएको  जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *