पर्वत ।
पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको हो । आगामी असार महिनासम्म निर्माणको अवधि भए पनि माघमै निर्माण सकिने भएको हो । कालीगण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो यो झोलुङ्गे पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ ।
यो पुल डेढ वर्षअघि निर्माण थालिएको थियो । पुल निर्माणको करिब ९५ प्रतिशत भौतिक प्रगति भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । अबको तीन हप्ताभित्र पुलबाट सर्वसाधारण वारपार गर्न सक्ने कार्यालयले जनाएको छ । दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी २०७९ साल असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुर र हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबीच भ्याटबाहेक रु आठ करोड २३ लाख ४१ हजार चार सय ११ मा ठेक्का सम्झौता गरिएको थियो ।
पुल निर्माण सम्पन्न भएपछि जलजला–८ नाग्लिबाङका बासिन्दा घन्टौँ लगाएर बागलुङ बजार जानुपर्ने बाध्यताको अन्त्य हुने छ । पुल बनेपछि १५ मिनेटमा बाग्लुङ बजार पुग्न सकिने छ ।