पर्वत ।
जिल्ला भित्र सञ्चालन हुने जीप तथा बसले यात्रुबाट मनपरी भाडा असुल गरेको गुनासो आएपछि पर्वतमा सरोकारवालाहरु बीच नयाँ भाडादर सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको सरोकारवालाहरुबीचको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा यात्रा गर्ने यात्रुले जीपमा सवार गर्दा प्र्रतिकिलोमिटर ११ रुपैँया र बसमा सवार गर्ने यात्रुले प्रतिकिलोमिटर १० रुपैँया तोकिएको छ । त्यस्तै कालोपत्रे, ग्रावेल र पक्की सडकमा यात्रा गर्ने यात्रुका लागि प्रति किमी जीपमा ९ रुपैँया ५० पैसा र बसमा ९ रुपैँया तोकिएको छ ।
सोही बैठकले नयाँ भाडादरलाई सर्वसाधारण यात्रुले देख्नेगरी पारदर्शी तवरबाट यातयातका साधनमा टाँस गर्नका लागि यातायात व्यवसायीलाई अनुरोध समेत गरेको छ । त्यस्तै भाडा निर्धारण गर्ने प्रयोजनका लागि गठित समितिमा पर्वत यातयात प्रालिका हेमशर्मा पौडेललाई सदस्यमा मनोनित गर्ने निणर्य समेत गरेको छ ।
अटो रिक्साको सम्बन्धमा समेत कुश्मा बजार भित्र रुट कायम भएका जुनसुकै स्थानमा प्रतिव्यक्ति ५० रुपैँया र फलेवास नगरपालिकाको रुट कायम भएको क्षेत्र भित्र प्रतिकिलोमिटर १५ रुपैँया मात्रै लिन पाउने गरी निणर्य भएको छ ।
