पर्वतमा प्रतिनिधिसभा चुनावको सरगर्मी : १७ उम्मेदवार मैदानमा

पर्वत ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वत जिल्लामा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा मंगलबार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १७ जनाले मनोनयन पत्र दर्ता गराएसँगै चुनावी माहोल तातेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेका अनुसार १३ वटा राजनीतिक दलबाट १३ जना र ४ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यस पटकको निर्वाचनमा पर्वतमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले) ले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य पदम गिरीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा पनि पर्वतबाट एमालेकै उम्मेदवार गिरी विजयी भएका थिए । यस्तै, नेपाली कांग्रेसले केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई मैदानमा उतारेको छ ।  नेपाली कम्युनिष्ट पार्टीका मनहरी शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल र नेकपा (माओवादी) का कृष्णबहादुर विकले उम्मेदवारी दिएका छन् ।

यसैगरी, राप्रपाबाट दुर्गाबहादुर मल्ल, राष्ट्रिय जनमोर्चाबाट भीमलाल न्यौपाने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एलिना सुवाल र आम जनता पार्टीबाट पवित्रा मल्ल उम्मेदवार बनेका छन् । अन्य उम्मेदवारमा राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाइजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीका यमबहादुर चोचांगी पुन, मंगोल नेसनल अर्गनाइजेसनकी लालकुमारी थापा राना तथा नेसनल रिपब्लिक नेपालका वीरबहादुर गुरुङ रहेका छन् । स्वतन्त्रतर्फ भने सीतादेवी शर्मा, सावित्री शर्मा, मीना पौडेल शर्मा र गंगालाल रिमालले उम्मेदवारी दर्ता गराएका छन् ।

१७ उम्मेदवार मैदानमा उत्रिएसँगै पर्वतको राजनीतिक सरगर्मी तीव्र बनेको छ भने मतदाताको ध्यान अब उम्मेदवारका एजेन्डा र चुनावी रणनीतितर्फ केन्द्रित हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *