पर्वतमा विद्युतीय दुर्घटनामा परेर एकको मृत्यु, ८ जना घाईते, २०० घरमा क्षति

पर्वत ।

जिल्लाको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बिहान ६ बजे विद्युत सर्ट भइ आगलागी हुँदा स्थानीय ५० वर्षीया सिता केसीको मृत्यु भएको छ ।

हाइ भोल्टेजको करेन्ट प्रवाह भइरहेका कारण समस्या देखिएपछि मिटरवक्स बन्द गर्न गएकी केसीको करेन्ट लागेर मृत्यु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका स्वकीय सचिव राज आर्चायले जानकारी दिएका छन् ।

सचिव आचार्यका अनुसार उक्त ठाउँमा झण्डै २०० घरको मिटरबक्स जलेका छन् । पहिले स्थानीय प्रताप आचार्यको बाख्रा फारममा विद्युत् सर्ट भइ आगो लाग्दा उनका ११ वटा बाख्रा करेन्ट लागेर मरेका छन् । त्यसको आधा घण्टामै सीता केसीको मिटर बक्स बन्द गर्न जाने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

उनले करेन्ट लागेर घाईते मध्ये ४ जनालाई उपचारका लागि म्याग्दी अस्पतालमा पठाइएको जानकारी दिएका छन् भने अन्य केहीलाई सामान्य करेन्ट लागेको बताए ।

आचार्यका अनुसार ११ हजार भोल्टेजको मेन लाइनको पोलमा लगातार १ सातादेखि समस्या आइरहेको थियो । मेन लाइन र शाखाको लाइन एउटै पोलबाट वितरण भइरहेकोले हाइ भोल्टेजका कारण समस्या आएको थियो ।

‘मेन लाइनको तार पोलको किमा छोइएको कारणले त्यो भोल्टेज एउटै लाइनको पोलमा गएर शाखामा छिरेपछि यस्तो घटना घट्यो । यो ट्रान्सफरमबाट २५० घरमा लाइन वितरण भएको छ । ५० घरमा चेक गर्दा सबैका मीटरमा आगलागी भएको छ । अन्य घरमा पनि त्यस्तैछ । हामी अनुसन्धानमा छौं ।’

समस्या आउनासाथ एकसाता अगाडि नै विद्युत् प्राधिकरणमा खबर गरिएको थियो । प्राधिकरणबाट कर्मचारी आएर बनाएर गएपनि आज बिहान यस्तो समस्या आएको आचार्यले जानकारी दिए ।

‘ट्रान्सफरमा समस्या आयो भने एमसी अफ गरिन्छ । तर यसमा एमसी नभएका कारण यस्तो समस्या आयो ।’ आर्चायले भने ।

समस्या आउनासाथ विद्युत्का कर्मचारीलाई सम्पर्क गर्दा फोन नउठाएको पनि आचार्यले गुनासो गरे । ‘हाम्रो गाउँपालिका वडा नं ४ मा एउटा शब स्टेशन छ । त्यहाँ कार्यरत कर्मचारीलाई समस्या आउँदा फोन गरेको तर उहाँले उठाइदिनु भएन । बाख्रा फारममा घटना हुनासाथ उहाँलाई सम्पर्क गरियो तर उहाँले फोन उठाउनु भएन । अनि मानविय क्षति भोग्नुपर्यो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर प्रकाश रावतले आफुहरु घटनास्थल पुगेर मात्र सम्पूर्ण विवरण थाहा हुने जानकारी दिएका छन् भने सोहि वडा नं ७ का अध्यक्ष टुंगनाथ आचार्यले पनि आफु घटनास्थल पुग्दै गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *