पर्वत ।
यहाँको एक गाउँका विद्यार्थीलाई प्रवासीहरुले सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा दुबई पुगेर पर्वत समाज यूएईमा गाेलबद्द भएका पर्वतेलीहरुले कुश्मा नगरपालिका–३ दुर्लुङमा अवस्थित दालपोखरी प्राविका विद्यार्थीलाई पोषाक र विद्यालयलाई एक थान ल्यापटप सहयोग गरेका हुन् ।
जिल्लामा सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु गरेर गुणस्तरीय शिक्षा प्रदान गरेकोमा विद्यालयलाई हैासला प्रदान गर्ने उद्देश्यले ४२ जना विद्यार्थीलाई पोषक र विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको पर्वत समाज यूएईका अध्यक्ष कमल लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार करिव एक लाख बरावरको सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक सल्लाहकार सुभाष जोशी ‘सन्तोष’ले शैक्षिक सामग्री वितरणले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार तथा विद्यार्थी भर्नादर टिकाउ गराउन मद्दत पुग्ने बताउनु भयो । उहाँले जिल्लाको शैक्षिक विकासमा प्रवासी प्रर्वतेलीहरुले सहयोग गदै आएको बताउँदै भावी दिनमा थप सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा अतिथि एवम् अन्तराष्ट्रिय पर्वत समाजका बरिष्ठ उपाध्यक्ष परशुराम पौडेलले शैक्षिक सामग्रीले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने बताउनु भयो । पर्वत समाज यूएईका बरिष्ठ सल्लाहकार समेत रहेका पौडेलले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न सुझाव दिनुभयो ।

पर्वत समाज यूएईका अध्यक्ष लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक अमृत शर्मा लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावकहरुले बोल्नुभएको थियो । उक्त कार्यक्रमको संचालन कलाकार आर.सी पौडेलले गर्नुभएको थियो ।

