पातीचौर लप्सिबोट सडक पटक पटक अवरुद्ध हुँदा यात्रुलाई सास्ती, जनप्रतिनिधिले चासो नदेखाएकाे स्थानीयको गुनासो


पर्वत ।

शुक्रबार रातीकाे अविरल वर्षाले पानी खोल्सामा आएको पहिरोले सडक बिहानै देखि अवरुद्ध बनेको थियो । सडकको दुवै तर्फ सवारी साधनहरु रोकिएका थिए । कोही जेसिबि मगाउन जन प्रतिनिधिलाई फोन गर्दै थिए । दिउँसो सम्म सडक खुलाउन त्यहाँ कुनै जेसिबी आएन । न त कुनै जनप्रतिनिधि नै आए ।

सवारी चालकहरु बेल्चा निकालेर सडक खोस्रिन थाले । उनीहरूलाई यात्रुहरुले पनि साथ दिए । केही बेरपछि पूर्व वडाध्यक्ष विकास तिमिल्सिना त्यहाँ आई पुगे र ढुङ्गा पल्टाउन थाले । ग्रामीण सडक सुरक्षा सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको देउपुर प्रहरी चौकी डीमुवाको टीम पनि त्यहाँ आइपुग्यो । नागरिक र प्रहरीको करिब एक घण्टाको प्रयास पछि सडक खुल्यो । सवारी साधन र यात्रुहरु आफ्नो गन्तव्य तर्फ लागे ।

पर्वत जिल्लाको मोदी गाउँ पालिकाको केन्द्र पातीचौरलाई तीन ओटा वडा सँग जोड्ने एक मात्र पक्की सडक पातीचौर – लप्सी बोट सडककाे नियति हो यो । वर्षा याम शुरू भएसंगै यो सडक पटक पटक अवरुद्ध हुने गरेको छ । सो सडकको पाती खोला देखि कोरुङ्गा सम्मको करिब दुई किलो मीटर सडक पहिरोले गर्दा अवरुद्ध हुने गरेको हो ।

गत वर्ष निर्माण सम्पन्न भएको उक्त सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको छ । वर्षा हुनासाथ सडकमा पहिरो खस्छ अनि यात्रुहरु सास्ती खेप्न बाध्य हुन्छन् । दैनिक ओहोर दोहोर गर्ने नागरिक, कर्मचारी, शिक्षक, विद्यार्थीले निकै ठुलो जोखिम र सास्ती बेहोर्नु परेको उनीहरूको भनाई छ । स्थानीय शिक्षक विमल शर्मा भन्छन् -” पानी पर्दा सडक पार गर्न निकै जोखिम छ । कति बेला सडक बन्द हुन्छ पत्तै हुँदैन । पटक पटक हुने अवरोधकै कारण समयमा गन्तव्यमा पुग्न निकै कठिन भै रहेको छ । ”

सडकमा पर्ने पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्ष ०७९/८० मा गण्डकी प्रदेशबाट ५० लाख रुपैया छुट्टिएको भए पनि सो रकम उक्त कार्यमा खर्च नगरी अन्यत्रै लागिएको स्थानीयले गुनासो गरेका छन् । सडक मर्मत तथा पहिरो नियन्त्रणमा स्थानीय जन प्रतिनिधिले चासो नदेखाएको स्थानीय युवा सुवास जिसीले बताए । जिसीले भने ” केन्द्र र गाउँको लाइफलाइनकाे रूपमा रहेको सडक सरकारको प्राथमिकतामा नपर्नु दुःखद कुरा हो । तीन ओटै सरकारले सडकको सुरक्षा र सुधारमा ध्यान दिनु आवश्यक छ ।

खराब सडककै कारण नियमित रूपमा गाडी चलाउन नसकिएको देउराली, देउपुर, पोखरा रुटमा गाडी सञ्चालन गरिरहेका मिलन बराइली बताउँछन् । आफै बाटो खोस्रदै गाडी पार गर्दै गर्नु पर्ने अवस्था छ । यही पहिरोमा धेरै समय खर्चिनु पर्छ । पहिरो नियन्त्रण र सडक मर्मतमा स्थानीय सरकारको पहल हुनु पर्ने उनले बताए ।

ठूलो लगानीमा निर्माण गरिएको पक्की सडकको सुरक्षा र दिगोपनका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने वडा नं २ का पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।  तिमिल्सिनाले भने -”  नालीहरु सफा गर्ने, समयमै पहिरो पन्छाउने, भल बाढीको उचित व्यवस्थापन गर्ने , सडक किनाराहरुमा पहिरो रोक्ने खालका घास तथा रूखहरू रोप्ने  गरेमा ठूलो क्षति हुनबाट सडकलाई जोगाउन सकिन्छ । त्यस तर्फ सबैको ध्यान जानु आवश्यक छ ।”

सडक बिग्रेर ठूलो रकम खर्चिनु भन्दा सडक जोगाउने उपायहरू अवलम्बन गर्नु बुद्धिमानी ठहर्छ । सडकको खराब अवस्थाको कारण धेरै दुर्घटनाहरु घट्न गई मानवीय  तथा भौतिक क्षति हुन पुग्छ ।   त्यसैले त्यस्ताे दुःखद  अवस्स्था आउन नदिन स्थानीय सरकारहरूले आफ्ना कार्यक्रमहरुमा सडकको सुरक्षा र दिगोपनालाई समेट्नु जरुरी देखिन्छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *