पर्वत ।
पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २:३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी पर्वतको बिहादी गाउँपालिका–१, बाच्छा देउराली निवासी ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएकोमा उपचारकै क्रममा दिउँसो ३:३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटो चालक फलेवास नगरपालिका–११, पाङग्राङ निवासी ३६ वर्षीय मनबहादुर परियार सहित चार जना घाइते भएका छन्। घाइते हुने अन्यमा बिहादी गाउँपालिका–१, बाच्छा देउराली निवासी २४ वर्षीया कबिता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक रहेका छन्।
घाइते चारै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।