काठमाण्डौ ।
सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार भौतिक तथा दुई जनाको ज्यान जाने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो।
प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (ईपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी त्यस क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडी लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनुभयो । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।
ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनामा दुई जनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो ।
प्रधानमन्त्रीले यस घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताउनुभयो ।