पर्वत ।
उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत जोड्ने छोटो बाटोको रुपमा लिइएको कालिगण्डकी कोरिडोरको काम धमाधम अघि बढेको छ । बाढीपहिरो र कोरोना संक्रमणका कारण केही समय रोकिएको आयोजनाको काम अहिले रफ्तारमा अघि बढेको हो ।
मालढुंगादेखि बेनी, जोमसोम हुँदै कोरला नाकाअन्तर्गतका अधिकांश ठेक्का करिब सकिएका छन् । जोमसोमदेखि कोरलासम्मको ७ प्याकेजमध्ये ६ वटा पूरा भएको छ भने चराङ–छोसेरको ८० प्रतिशत काम सकिएको छ । तामाङ–गौरी, पार्वती–सप्तकोशी जेभीले ठेक्का लिएको २५ किलोमिटर दूरीको यो खण्डको काम समयमा नभएकोले हर्जना समेत असुल गरिएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । ‘हामीले ताकेता गरिरहेका छौं । काम बेलैमा गरेको छैन,’ उनले भने, ‘अन्तिम पटकका लागि चैतसम्म म्याद थप भएको छ । त्यतिबेलासम्म पनि काम नभए ठेक्का तोड्नुको विकल्प छैन ।’
छोसेरदेखि कोरलासम्म सुरुमै काम सकिएको हो । चराङदेखि चैले, चैलेदेखि ताङ्वे, ताङ्वेदेखि कागबेनी र कागबेनीदेखि जोमसोमसम्मको सडकमा समस्या छैन । जोमसोम–कागबेनी खण्डको ग्राभेल भैसकेर कालोपत्रे प्रक्रियामा पुगेको छ । बेनीदेखि कोरलासम्म १ सय ८६ किलोमिटर सडक छ । त्यसमध्ये जोमसोम कोरला १ सय १० किलोमिटर छ भने बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर पर्छ ।
बेनी–जोमसोमको ७६ किलोमिटरलाई ४ वटा प्याकेजमा ठेक्का दिइएको छ । नारच्याङदेखि कैकुखोला प्याकेजको काभ्रे, बादरजुङ, घोप्टेभीर लगायत क्षेत्रमा बढी समस्या छ । कतै कडा चट्टान र कतै लेदो बगेका कारण काम समयमा नभएको प्रजापति बताउँछन् । ‘माथिको भूगोलमा इन्जिनियरिङ डिजाइनसमेत फेल खाइरहेको छ । यो रुटको स्थायी समाधान अझै खोज्दै छौं,’ उनले अघि भने, ‘तत्कालका लागि त्यही रुट चलाउनुपर्छ । पछि रि–रुट गर्ने कि कसरी जाने थप अध्ययन गर्नुपर्छ ।’ रि–रुट गर्ने ठाउँ समेत नभएकोले गाह्रो परेको उनले सुनाए । ‘के गर्ने भन्ने कसैले केही भन्न सक्दैन । रि–रुट गर्न पनि तलमाथि जान सक्ने अवस्था छैन । अर्को पाखो पनि उस्तै हो,’ उनले भने, ‘रुप्से क्षेत्र बर्खामा बगेको बग्न दिने र बगिसकेपछि काम थाल्ने हो । अरु विकल्प देख्दिनँ ।’
गलेश्वरदेखि नारच्याङ र राहुघाटदेखि बेगखोलासम्म कालोपत्रे गर्न थालिएको छ । कैकुखोलादेखि खन्तीसम्मको सडकमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ भने कोवाङदेखि जोमसोम खण्डसमेत कालोपत्रेको प्रक्रियामा छ । यता बेनीदेखि मालढुंगा सडक पनि ठेक्का प्रक्रियामा लगिएको छ । करिब ७ अर्ब लागत अनुमान गरिएको सडकमा हालसम्म ५ अर्बभन्दा बढी खर्च भइसकेको छ भने यो वर्ष करिब डेढ करोड विनियोजन गरिएको छ । ‘चैतसम्म सबै काम सक्ने लक्ष्य हो । सकिन्छ भन्ने विश्वास छ,’ प्रजापतिले भने, ‘सकिएन भने असार अन्तिम म्याद हो । त्यो बेलासम्म पूरा गरिछाड्छौं ।’ यो आयोजना साढे २ वर्ष म्याद दिएर सम्झौता भएकोमा करिब २ वर्ष म्याद कटिसकेको छ । कोरोनाका कारण म्याद थप गर्न खरिद ऐनले बाटो दिएको आयोजनाले जनाएको छ ।