मंसिर २१ मा लान्द्रुकमा हनी हन्टिङ

पोखरा ।
अन्नपूर्ण क्षेत्रको गाउँ लान्द्रुक । पश्चिम मोहोडाको यो गाउँमा कुनै बेला अन्नपूर्ण आधार शिविर जाने पर्यटकको घुइँचो लाग्थ्यो । अचेल भने पर्यटक झुल्किन मुस्किल हुन थालेको छ ।

घान्द्रुकको ठिक सामुन्नेको लान्द्रुक गाउँ पर्यटकका लागि बिरानो बन्न थालेको चिन्ताले पिरोलिएका गाउँलेले पर्यटक डाक्ने जुक्ति फुराएका छन्—हनी हन्टिङ फेस्टिभल । हो, लान्द्रुक गाउँ फेदी मादी नदीको किनारमा भीरमौरीका धेरै घार छन् । गाउँले भीरमौरीको मह पनि काढिरहन्छन् । गाउँको यही विशेषतालाई प्रचार गर्दै गाउँले मिलेर मंसिर २१ देखि २३ सम्म हनी हन्टिङ फेस्टिभल आयोजना गर्न लागेका छन् ।
भीरमौरीको महको स्वाद र मह काढ्ने विधि विश्वलाई चिनाउन र लान्द्रुकमा आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको फेस्टिभलका संयोजक राम गुरुङले बताए ।

‘शताब्दीदेखि चलिआएको परम्परा प्रचार नपाएर लुकेको छ । विदेशी पर्यटक नपुगेकाले लान्द्रुकको पर्यटन व्यवसाय मारमा छ,’ संयोजक गुरुङले पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘फेस्टिबलले गाउँमा स्वदेशी पर्यटन भित्रिने आशा गरेका छौं ।’
फेस्टिभलमा पञ्चेबाजासहित अतिथिको स्वागत गर्र्ने, सित्तैमा मह चाख्न दिने तथा साँझमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने संयोजक गुरुङले जानकारी दिए । फेस्टिभलकै छेको पारेर लान्द्रुक गाउँको क्युप्चे वराह, दुधे वराह मन्दिर र नमेल्धु छहराको प्रवर्धन गर्ने योजना गाउँलेले बनाएका छन् ।

फेस्टिभलका सल्लाहकार चन्द्रबहादुर गुरुङका अनुसार लान्द्रुकमा भीरमौरीको मह काढ्ने चलन निकै पुरानो हो । उनी भन्छन्, ‘विधिवत् पूजा गरी भीरमा चढ्न चोयाले बनाएको डोरी (प¥यङ) प्रयोग गरिन्छ । भीरमा ३ जना भिरौटे चढ्छन् र मह काढ्छन् ।’ भीरमौरीले जंगली जडीबुटी र फूलको रस खाने हुनाले यसको मह धेरै खाँदा मातसमेत लाग्ने चन्द्रबहादुर बताउँछन् । ‘सेलरोटीमा भीरमौरीको मह मिसाउँदा निकै मिठो पाक्छ,’ चन्द्रबहादुर भन्छन् ।

फेस्टिभल प्रचार समिति संयोजक कमल गुरुङका अनुसार भीरमा ४३ घार देखिएको छ । कति लिटर मह काढिन्छ भन्ने यकीन नभएको उनी बताउँछन् । पहिलो दिन २ देखि ३ घार काढिन्छ । पोहोर सालसम्म २ हजार ५ सय रुपैयाँ लिटरका दरले बिक्री भएकोमा यसपालि ३ हजार प्रति लिटरसम्म बिक्री हुने अनुमान छ । विदेशीलाई १ सय डलरमा बेच्ने गरिएको उनीहरु बताउँछन् ।

फेस्टिभलका अध्यक्षसमेत रहेका अर्जुन गुरुङ आफैंले ३ वर्षदेखि मह काढ्दै आएका छन् । उनी भन्छन्, ‘मसँगै खड्गबहादुर गुरुङ र पुजारीसमेत रहेका आनन्द पौड्याल भिरौटे छौं । नौलो अनुभूतिका लागि कृपया आइदिनुहोला ।’
फेस्टिभल आयोजना गर्न लान्द्रुकेलाई अन्नपूर्ण गाउँपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । हङकङमा बस्ने युवराज गुरुङले पनि आर्थिक सहयोग गरेर गुन लगाएको संयोजक रामले बताए ।

फेस्टिभल आयोजना गर्न ३ लाख ५० हजारको खर्च अनुमान गरिएको छ । गाउँपालिकाले १ लाख सहयोग गर्नेे छ । लान्द्रुक पोखराबाट धेरै टाढा छैन । पोखरा हरिचोकबाट प्रत्यक्ष लान्द्रुक पुग्ने गाडी पाइने यातायात व्यवस्थापक दुर्गाबहादुर गुरुङले जानकारी दिए । बिहान ९, मध्याह्न १२ र अपराह्न ३ बजे सजिलै सार्वजनिक यातायात पाइने उनले सुनाए । लान्द्रुकबाट मर्दी हिमाल, घोरोपानी, पुनहिल र अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *