मध्यमोदी जलविद्युत आयोजनामा तामाको तार चोरी गर्ने व्यक्तिहरू पक्राउ

पर्वत ।

पर्वतको मोदी गाउँपालिका–६ तिलाहार, सामादिमा रहेको मध्यमोदी जलविद्युत आयोजनाकाे स्टोरमा छिरेर तामाको तार चोरी गरेका छ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार मोदी गाउँपालिका–२ देउपुर बस्ने २७ वर्षीय मनोज मल्ल, वडा नं. १ भुकताङले २७ वर्षीय सिद्धान्त भन्ने चन्द्र बहादुर पाण्डे, वडा नं.६ तिलाहार घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने २७ वर्षीय विशाल बिक, कास्कीको पोखरा महानगरपालिका–३ नदीपुर बस्ने ३४ वर्षीय अमित ताम्राकार, मोदी गाउँपालिका–२ देउपुर बस्ने २४ वर्षीय मोहन मल्ल र वडा नं ६ देउपुरमा बस्ने ३७ वर्षीय सागर बिक रहेका छन्।

तार चोरी भएको थाहा पाएपछि जलविद्युत आयोजनाले पर्वत प्रहरीमा खोजतलासको निवेदन दिएको थियो। तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले गत फागुन १५ गते राती मनोज, चन्द्रबहादुर, विशाललाई नियन्त्रणमा लिएको थियो। उनीहरूले दुई रोल तार चोरी गरेको र विशालले गाडीको व्यवस्था गरी पोखराको नदीपुरमा तार लगेको पाइएको थियो। नदीपुरको ज्ञान मार्गमा बस्ने विन्धेश्वरी भाँडा पसलका अमित ताम्राकारले खरिद गरेको पाइएपछि ताम्राकारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा गत फागुन २३ गते राती पनि देउपुरका मोहन, तिलाहार घर भएका विशाल बिक र तिलाहारका सागरले तीन रोल तार चोरी गरेको खुलेको थियो। लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजतलास गर्दै जाने क्रममा मनोज, चन्द्रबहादुर, विशाल, अमित, सागर र मोहनलाई गत चैत १३ गते पोखराबाट पक्राउ गरेको हो। प्रहरीले ताम्राकारको विन्धेश्वरी भाँडा पसलबाट दुई रोल तामाको तार समेत बरामद गरेको छ। उनीहरूका विरुद्धमा दुई ओटा छुट्टा छुट्टै चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *